स्वतन्त्रहरू सलबलाउन थाले, भातृ र शुभेच्छुक संस्थालाई छिटो पूर्णता दिनुपर्छ : नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल पार्टीका भातृ संगठनलाई पूर्णता दिन आग्रह गरेका छन् । बिहीबार राजधानीमा आयोजित आगामी निर्वाचनमा भातृ संस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेता महरले भ्रातृ संगठनले पूर्णता नपाउँदा पार्टी र संगठनका लागि काम गर्ने कार्यकर्ताहरूले स्थान नपाएको बताए । 

'पार्टीका भातृ र शुभेच्छुक संस्थाले पूर्णता नपाउँदा काम गर्न निकै गाह्रो भइरहेको छ । क्याम्पस, जिल्ला, प्रदेश र केन्द्र सबै ठाउँमा भातृ र शुभेच्छुक संस्थाको नेतृत्व जाम छ,' उनले भने, 'युवासँगै थुप्रै व्यक्ति बाहिर रहेकाले स्वतन्त्रहरू सलबलाउन थालेका छन् । राजनीतिप्रतिको वितृष्णा बढ्दो छ ।'

उनले राजनीतिप्रति युवा वर्ग र बाहिर रहेका मानिसको आकर्षण बढाउनका लागि चाँडोभन्दा चाँडो भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिनुपर्ने महर बताउँछन् । उनले पदाधिकारीसहितको पूर्ण आकारको कमिटी बनाउन पार्टी नेतृत्व पङ्क्तिको गम्भीर ध्यानाकर्षण गराउन चाहेको बताए ।  

सबै भातृ र शुभेच्छुक संस्थाको पूर्ण कमिटी बनाउँदा १५ हजार मानिसले जिम्मेवारी पाउने महरले बताए । जिम्मेवारी प्राप्त गर्दा मानिसको सक्रियता बढ्ने भएकाले गठबन्धनबिनै पनि पार्टी प्रतिस्पर्धा गर्न सक्षम हुने महरको भनाइ छ ।

'जिम्मेवारीविहीनले के माग गर्ने? कसलाई काम लगाउने? अहिले धेरै युवा रनभुल्लमा छन्। अब यो परिस्थितिको अन्त्य हुनुपर्छ। पार्टीलाई जीवन्त पार्न भातृ संस्थालाई पूर्णता दिनै पर्छ,' महरले भने। उनले पार्टीलाई सशक्त र पुर्नताजकी बनाउन सञ्जीवनी बुटीको काम गर्ने बताए ।

उनले गाउँ-गाउँसम्म भातृ संगठन पुग्दा जनताको घरघरमा पुगेर पार्टीको मिसन र भिजन बुझाउन सहज हुने बताए । 'नेविसंघ कांग्रेसको मुटु हो । युवा संघ तरुणहरूको ऊर्जा हो। सांस्कृतिक संघ कलाकर्मीहरूको संगठन हो। यस्तै अन्य थुप्रै संगठनले पूर्णता पाउन सकेका छैनन् । ठूलो समूह जाम भएर बसेको छ। जसले पार्टीका गतिविधिमा ठूलो असर गरेको छ,' महरले भने ।   





  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार १४:६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया