रामायण सर्किट जोड्ने ‘भारत गौरव पर्यटक रेल’ आइपुग्यो जनकपुरधाम

रामायण सर्किट जोड्ने ‘भारत गौरव पर्यटक रेल’ आज दिल्लीबाट जनकपुरधाम आइपुगेको छ । भारतीय रेलले सुरु गरेको ‘भारत गौरव पर्यटक रेल’ धार्मिक पर्यटक लिएर जनकपुरधाम आइपुगेको हो । 

रामायण सर्किटको धार्मिक सांस्कृतिक प्रवद्र्धन गर्ने उद्देश्यसहित झण्डै ६ सय तीर्थ यात्री बोकेर सो रेल आज जनकपुरधाम आइपुगेको छ । १८ दिनको यात्रा अन्तर्गत तेस्रो दिन ‘भारत गौरव पर्यटक रेल’ बिहिबार दिउँसो करिब पौने २ बजे जनकपुरधाम पुगेको छ । 

गत मंगलबार साँझ नयाँ दिल्लीको रेल्वे स्टेशनमा भारतका रेल मन्त्री र पर्यटनमन्त्रीले संयुक्तरुपमा हरियो झण्डा देखाएर सो रेलको उद्घाटन गरेपछि रामायणसँग जोडिएको क्षेत्रको यात्रा गराउन जनकपुरधामका लागि प्रस्थान गरेको थियो ।

बिहिबार उक्त रेल्वे जनकपुरधाम पुग्दा तिर्थ यात्रुलाई मधेस सरकार, जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिरले स्वागत गरेको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साह, जानकी मन्दिरका सहायक महन्थ रामरोसन दाससहित स्थानीयहरु स्वागतका लागि रेल्वे स्टेशन पुगेका थिए । 

रेल्वे स्टेसनबाट यात्रुहरु जनकपुरधामको विभिन्न होटलमा गएका छन् । उनीहरुका लागि भारतीय राजदूतावासले जनकपुरधामको विभिन्न होटेल बुक गरेको छ । तीर्थयात्रीहरु आज साँझ ६ बजे महागंगा आरतीमा सरिक हुने र त्यहाँबाट जानकी मन्दिर पुगेपछि मन्दिरको प्राङ्गणमा प्रदेश सरकारले आयोजना गर्ने मिथिलाको कला संस्कृति झल्किने रात्रि सांस्कृतिक कार्यक्रमको आयोजना गरिने बताइएको छ । 



शुक्रबार बिहान जनकपुरधामको राममन्दिर, जनक मन्दिर लगायतमा दर्शन गरी उनीहरु धनुषाधाम स्थित धनुष मन्दिर पुग्ने छन् । त्यहाँबाट फर्केपछि तीर्थयात्रीहरु बस चढेर भिठामोड हुँदै सीतामढीका लागि प्रस्थान गर्नेछन् ।



जनकपुरधाम बाट बस चढेर सीतामढी पुग्ने तीर्थ यात्रीलाई लिएर त्यहाँबाट रामायण सर्किट हुँदै दिल्ली फर्किने बताइएको छ । रामायण सर्किट अन्तर्गत भारत र नेपालबीच पर्यटक रेल सुरु भएपछि जनकपुरधामको पर्यटन विकासमा मदत पुग्ने व्यवसायीहरुको विश्वास छ । 

  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार १४:५८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया