सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकृत गर्ने काम केपी ओली नेतृत्वको तत्कालीन सरकारले नै गरेको घाम जत्तिकै छर्लङ्ग भएको दाबी गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले सन् २०१५ मा केपी ओली प्रधानमन्त्री र रक्षामन्त्री भएको बेला सो प्रोग्राम अघि बढेको र २०१९ सालमा त्यसमा ओली नेतृत्वको सरकारले नै त्यसमा सहमती गरेको पत्र भेटिएको भन्दै ओली नै त्यसमा जिम्मेवार देखिएको बताएका हुन् ।
बिहीबार पार्टीबाट ललितपुर जिल्लाको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको सम्मान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सो राष्ट्रघाती प्रोग्राम ओली नेतृत्वको तत्कालीन सरकारले नै अघि बढाएको पत्र आफूले भेटेको जिकिरसमेत गरे । तर, ओली गुटले सत्तारुढ गठबन्धनले सो प्रोग्राम अघि बढाए जसरी प्रचार गरेर झुट र बेइमानी गरेको उनको आरोप थियो ।
अध्यक्ष दाहालले तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी दूतावासलाई पठाएको सोसम्बन्धी पत्रमा रक्षामन्त्रीको निर्देशनअनुसार भन्ने उल्लेख गरिएबाट पनि सो पत्रमा तत्कालीन प्रधानमन्त्री एवं रक्षामन्त्री ओली संलग्न भएको पुष्टि हुने तर्कसमेत गरे ।
अध्यक्ष दाहालले एमसीसी सम्झौतामा राष्ट्रघात हुन नदिन आफूले नै संसदबाट त्यसमा १२ बुँदे घोषणा गराएको दोहोर्याए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।