प्रतिनिधिसभा शून्य समयमा बोल्दै सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारको प्रतिनिधिसभाको शून्य समयमा बोलेका सांसदहरूले मूल्यवृद्धिदेखि नागरिकता विधेयकसम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेकपा(एकीकृत समाजवादी)की सांसद समीना हुसेनले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराइन् । सांसद हुसेनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण श्रमिक र निम्न आय भएकाहरुले चुल्हो बाल्न नसक्ने अवस्था भएको बताइन् । उनले यस्तो स्थितिलाई ध्यान दिँदै पेट्रोलियम पदार्थको मूल्य छिटोभन्दा छिटो घटाउन सरकारको ध्यानाकर्षण गराइन् ।
नेकपा(एकीकृत समाजवादी)की सांसद लक्ष्मीकुमारी चौधरीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको गर्ने सरकारको निर्णय फिर्ता हुनुपर्ने बताइन् । उनले नागरिकता विधेयक र संघीय निजामती ऐन छिटो ल्याउन सरकारको ध्यानाकर्षण गराइन् ।
नेकपा(एमाले)का सांसद लालप्रसाद साँवा लिम्बूले विद्यालयमा आजसम्म पाठ्यपुस्तक पुग्न नसकेको बताए । उनले प्रथम त्रैमासिक परीक्षा आइसक्दा पनि पाठ्यपुस्तक नपाइएको बताए । उनले लाखौ विद्यार्थीको भविष्य अन्यौलमा नपार्न सरकारलाई आग्रह गरे ।
नेकपा(एमाले)का सांसद लालबाबु पण्डितले नागरिकता विधेयकलाई फाष्टट्रयाकबाट पारित गरि नागरिकताको वितरण गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे । उनले सरकारले संघीय निजामती विधेयक फिर्ता गरेर संघीयताको मर्म र प्रशासनलाई तहशनहश बनाएको आरोप लगाए । उनले संघीय निजामती विधेयकलाई पनि संसदमा ल्याई पारित गर्न सरकारको ध्यानाकर्षण गराए ।
नेकपा(एमाले)की सांसद विमला विश्वकर्माले स्टाफ नर्स र अनमी कोर्ष पढेका विद्यार्थीहरुलाई एउटै दर्जामा राखि सेवा, सुविधा दिनेगरी नीतिगत व्यवस्था मिलाउन सरकारसँग माग गरिन् ।
नेकपा(माओवादी केन्द्र)कि सांसद सत्य पहाडीले जाजरकोट, धादिङ र बझाङ जिल्लाका ३ वटा स्थानीय तहमा बैंकका शाखा नपुग्दा सामाजिक सुरक्षा भत्ता रोकिएको बताउनुभयो । उहाँले सो स्थानमा सामाजिक सुरक्षा भत्ता पुर्याउन सरकारसँग माग गरे ।
नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले थारू क्लष्टरलाई समेटेर निजामती सेवा ऐन पारित गर्न माग गरे । उनले टीकापुर घटना विशेष प्रकृतिको राजनीतिक घटना भएको उल्लेख गर्दै सो घटनामा थारूहरूमाथि लगाइएको मुद्दा फिर्ता गर्न सरकारसँग माग गरे ।
नेपाली कांग्रेसका सांसद सत्यनारायण शर्मा खनालले विदेशी मुलुकबाट नेपालमा मंकिपक्स भाइरस आउने खतरा रहेको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले यस विषयमा अध्ययन र तयारी गर्नुपर्ने बताए । उनले खेत रोप्ने बेलामा किसानले मल नपाएर हाहाकार भएको भन्दै तुरुन्त मलको व्यवस्था गर्न सरकारसँग माग गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।