प्रतिनिधिसभाका सांसद लीलादेवी सिटौलाले न्यायाधीश र अधिवक्ताबीचको घुस लेनदेन भएको भनिएको संवाद सार्वजनिक हुनुले मुलुकको न्यायालयको अवस्था के छ भनेर छर्लङ्ग भएको बताएकी छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले नेपालको न्यायालय कस्तो छ भनेर जनताले देख्ने गरी बाहिरिनु दुःखद् भएको बताइन् ।
केही दिनअघि सञ्चारमाध्यमबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एशोसिएसनका पूर्व कोषाध्यक्ष अधिवक्ता रुद्र पोखरेलबीचको घुस लेनदेन भएको भनिएको संवाद सार्वजनिक भएको थियो । उक्त घटनाको सर्वत्र विरोध भइरहेका बेला यो विषयले सदनमा समेत प्रवेश पाएको छ ।
राज्यको कोषबाट तलबभत्ता बुझ्नेहरू सेटिङमा पैसा कमाउन लागेको आरोप लगाउँदै सांसद सिटौलाले भनिन्, 'सबै सेटिङमा घुस खाने, पैसा जोड्ने, गाडी जोड्ने, घर बनाउने, जनता हेरिरहने ?'
उनले आर्थिक वृद्धिलगायत विविध कारणले देश डुबिरहेको अवस्थामा त्यसको मौका छोपी सेटिङ गरेर देशका अमूक सङ्गठनमा बस्नेहरू घुसबाट धन कमाइरहेको भन्दै सदनको ध्यानाकर्षण गराइन् । 'यसका बारेमा सिङ्गो संसद् एकजुट हुनुपर्छ कि पर्दैन ?', उनले सदनमा प्रश्न गरिन् ।
उनले यस्ता गम्भीर विषयमा सबै सांसदहरु, सरकार र प्रतिपक्षको रूपमा विभाजित नभई सिङ्गो आवाज बन्नुपर्नेमा जोड दिइन् । उनले देश डुबाउनेहरूलाई खबरदारी गर्न जरुरी रहेको पनि औंल्याइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।