नेपाल उद्योग परिसंघले आउँदो शनिबार काठमाडौंमा नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ ।
परिसंघको युवा उद्यमी मञ्चले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर युवा उद्यमीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने बताएको हो ।
असार ११ गते काठमाडौंको सोल्टी होटलमा हुने स्टार्टअप फेस्टमा राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदूतावासको सहयोग रहेको छ ।
स्टार्टअप फेस्टमा छनोट भएकामध्ये १० वटा प्रस्तावलाई प्रस्तुत गर्ने अवसर दिइनेछ भने पुँजी लगानीको अवसर पनि दिने आयोजकले बताएको छ । यसअघि स्टार्टअपहरुलाई लगानीका लागि आवेदन पेश गर्न २७ जेठसम्मको समय अवधि दिएकोमा देशभरबाट ३ सय बढी परियोजना प्रस्ताव आएको थियो ।
जसमध्ये १० वटालाई प्रस्तुती गर्ने अवसरका दिनुका साथै पुँजी तथा प्रविधिक सहयोग गर्ने तथा लगानीकर्तालाई उत्कृष्ट परियोजनामा लगानीको अवसर दिने आयोजक नेपाल उद्योग परिसंघले बताएको छ ।
स्वदेशमै नयाँ उद्यम गर्न चाहने युवाहरुलाई व्यवसायमा ल्याउने विश्वासका साथ आयोजना गर्न लागिएको मेलामार्फत करिव ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता गरिने पनि आयोजक परिसंघले बताएको छ ।
कार्यक्रममा स्वदेशी एवं विदेशी विज्ञहरूबाट स्टार्टअप विषयमा प्रस्तुति हुनुका साथै प्यानल डिस्कसन, रोबोटिक फुटबल, लाइभ म्युजिक कन्सर्ट पनि हुनेछ । यसका साथै, ४० बढी स्टार्टअप्सले आफ्नो वस्तु तथा सेवाको प्रदर्शनी गर्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।