ईश्वर मन्दिर संस्थाद्वारा भरतपुर अस्पताललाई रगत परीक्षण गर्ने उपकरण हस्तान्तरण

चितवनस्थित भरतपुर प्रादेशिक अस्पताललाई काठमाडौंस्थित ईश्वर मन्दिर संस्थाले चिकित्साजन्य उपकरण हस्तान्तरण गरेको छ । विभिन्न संवेदनशील रोगको रगत परीक्षण गर्ने दुई थान ईलेक्ट्रोलाइट एनालाइजर उपकरण अष्ट्रेलियामा कार्यरत नेपालीको संस्था अम्याजिङ प्यारेन्टसले उपलब्ध गराएको हो ।

उपकरण हस्तान्तरण कार्यक्रममा पूर्वअर्थमन्त्री तथा ईश्वर मन्दिरका संरक्षक शंकरप्रसाद कोइरालाले स्वास्थ्य सेवाको हबका रूपमा रहेको भरतपुर अस्पताललाई उपकरण दिन पाउँदा खुसी लागेको र यसले विपन्न वर्गको स्वास्थ्य सेवामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सरकारी विद्यालयमा ई–लर्निङ अभियान सुरु गरेको संस्थाले अब शिक्षा र स्वास्थ्यलाई एकसाथ अघि बढाउने पनि बताए ।

भरतपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. भोजराज अधिकारीले ३५ लाख जनसंख्यालाई स्वास्थ्य सेवा दिइरहेको अस्पतालका लागि उपकरण उपयोगी हुने बताए । उनले सेवाका क्षेत्रमा अस्पताल सहकार्य गर्न तयार रहेको पनि बताए । अस्पताल प्रमुख प्रा.डा. कृष्णप्रसाद पौडेलले दैनिक २ हजार बढी बिरामीको चाप रहने भरतपुर अस्पतालको विकासमा सहयोगी हातहरूको उदारता प्रशंसनीय रहेको बताए ।

संस्थाका अध्यक्ष प्रमेश केसी र स्वयंसेवी आरोहणनरसिंह खड्काले संस्थाको गतिविधि अब दुर्गम क्षेत्रमा केन्द्रित गर्ने बताए । उनहरूले अब ईश्वर मन्दिर र अम्याजिङ प्यारेन्टसको सहकार्यमा शिक्षा र स्वास्थ्यका गतिविधि सञ्चालन गरिने जानकारी पनि दिए ।

ईलेक्ट्रोलाईट एनालाईजर उपकरणको बजार मूल्य १० लाख रुपैयाँ पर्न आउने बताइन्छ । एक महिनाअघि यही प्रकृतिको दुई उपकरण देशकै जेठो स्वास्थ्य संस्था वीर अस्पताललाई प्रदान गरिएको थियो ।   





  • प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार ६:५६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया