रोजगारदाता कम्पनीले सामाजिक सुरक्षा काेषमा चासो देखाएनन्

काठमाडौं– सरकारले ‘नयाँ युग’ कोे संज्ञा दिएको ‘योगदान सहितको सामाजिक सुरक्षा कार्यक्रम’मा रोजगारदाता कम्पनीले चासो देखाएका छैनन् । सरकारले गत मंसिर ११ मा सामाजिक सुरक्षा दिवसको दिन निकै भड्किलो प्रचार गरेर कार्यक्रम सुरु गरेको थियो । 

तर, कार्यक्रम सुरु भएको दुई महिना वित्न लाग्दा सामाजिक सुरक्षा कोषमा भने ४ सय ७० रोजगारदाता कम्पनी मात्रै दर्ता भएका छन् । 

सरकारले मंसिर ६ देखि नै काठमाडौं उपत्यकामा रहेका सबै रोजगारदाता, श्रमिक र आपूर्तिकर्तालाई कोषमा कम्पनी दर्ता खुल्ला गरेको थियो । प्रदेश तीनका अन्य जिल्लामा मंसिर १९ बाट दर्ता खुल्ला गरेको सामाजिक सुरक्षा कोषले जनाएको छ । 

यस्तै, प्रदेश १ मा पुसको सुरुवातदेखि र प्रदेश २ मा पुस १५ बाट दर्ता खुल्ला गरेको थियो । यी तीनै वटा प्रदेशबाट अहिलेसम्म जम्मा ४ सय ७० कम्पनीले मात्रै योगदान सहितको सामाजिक सुरक्षा कोषमा कम्पनी दर्ता गरेका छन् । 

तीन प्रदेशबाहेक गण्डकी र ५ नम्बर प्रदेशमा माघ १ तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका रोजगारदाताले माघ १५ गतेबाट मात्रै कोषमा कम्पनी दर्ता गर्न पाउने छन् । कोषले दर्ता खुलाएको तीन महिनामा सबै रोजगारदाताले कम्पनी दर्ता गरिसक्नु पर्ने व्यवस्था छ । 

कम्पनी रजिष्टारको कार्यालयले अहिलेसम्म २ लाख कम्पनी दर्ता भएको बताउँछ । जसमा १ लाख २० हजार अहिले पनि सक्रिय छन् । तर, रजिष्टार भएका कम्पनीसँग  कोषको तथ्यांक तुलना गर्दा निकै न्यून संख्यामा मात्रै कम्पनीहरु कोषमा दर्ता भएको देखिन्छ । 



कोषका अनुसार अहिले विभिन्न २१ खालका ४ सय ७० कम्पनीले मात्रै दर्ता छन् । अहिलेसम्म, म्यानुफ्याक्चरिङ, हस्पिटल, स्कुल, कलेज तथा मेडिकल कलेज, ट्रस्ट तथा गुठीका धेरै कम्पनीले कोषमा नाम दर्ता गराएका छन् । यस्तै, म्यानपावर सप्लायर्स्, होटल, बैंक, इन्सुरेन्स कम्पनी, हाइड्रोपावर कम्पनी, गैह्रसरकारी संस्था, मिडिया, सप्लायर्स, डिलर जस्ता कम्पनीहरुले कोषमा दर्ता गराएका छन् ।

कोषले दर्ता खुलाएको दुई महिना पुग्नलाग्दा समेत रोजगारदाता कम्पनीले चासो नदेखाएको कुरा कोषका निर्देशक शंकर नेपाल स्वीकार्दैनन् । उनी भन्छन्, ‘हाम्रोमा समय वित्ने बेला मात्रै तात्ने बानी छ, केही समय अझै बाँकी भएकाले दर्ता संख्या बढ्छ ।’



केही प्रदेशमा कार्यक्रम सुरु गर्न बाँकी रहेकोले पनि यसको संख्या बढ्ने उनको विश्वास छ । उनले प्रचारप्रसारको लागि केही दिन अघिमात्रै गण्डकी प्रदेश पुगेको स्मरण गर्दै भने, ‘हामी प्रदेश–प्रदेशमा पुगेर प्रचारप्रसार गरिरहेका छौं । यो दिर्घकालीन प्रकृया भएकोले केही समय लिन्छ ।’

तर, उद्योग वाणिज्य महासंघका वरिस्ठ उपाध्यक्ष शेखर गोल्छाले सुरुवात केही सुस्त भएको बताउँछन् । उनले भने, ‘यसमा रोजगार दाताले चासो नदेखाएको त भन्न मिल्दैन तर सबै कुरा प्रस्ट नहँुदा रोजगारदाताहरु अन्योलमा परेर शुरुवात सुस्त भयो ।’ 

सञ्चय कोषको पैसा सामाजिक सुरक्षा कोषमा कसरी हस्तान्तरण गर्ने जस्ता विषयमा रोजगारदातामा अन्योलता रहेकाले पनि यसको गति कम भएको उनको भनाई छ । 
योगदानमा आधारित सामाजिक सुरक्षाको महत्व बुझाउन कर्मचारी संगठनले पनि सरकारलाई सहयोग गर्नुपर्ने गोल्छा बताउँछन् । सरकारले प्रस्ट पार्न सकेमा बाँकी रहेको समयमा धेरै कम्पनीहरु कोषमा दर्ता उनको विश्लेषण छ । 

दर्ता प्रकृया प्रस्ट नहुँदा पनि कम्पनीहरु थोरै दर्ता भएको उनको भनाई छ । ‘दर्ता गर्दा नबुझेको विषयमा हामीलाई फोनबाट पनि सोध्न सकिन्छ,’ निर्देशक नेपालले भने ‘अहिले कम्पनीदेखि सबै कर्मचारीको विवरण भर्नुपर्दा समय लागेकाले कम्पनीले धेरै झन्झट मानेका छन् ।’ उनले यसलाई समाधान गर्न नयाँ सफ्टवेयरको विकास गरिरहेको पनि बताए । 

कसरी दर्ता गर्न सकिन्छ कोषमा कम्पनी ?

सामाजिक सुरक्षा कोेषमा कम्पनी दर्ता गर्न अनलाईन फर्म भर्नुपर्छ । कम्पनी र सञ्चालकको विवरण अनलाईन फारम भरेकोे आधारमा कोषले त्यसलाई स्वीकृत गरेको जानकारी दिन्छ । यदि फारम पुर्ण नभएमा कारण सहित कोषले अनलाईन जानकारी गराउँछ । 

कोषमा सुचिकरण भएपछि कर्मचारीको आधारभूत पारिश्रमिकको ११ प्रतिशत रकम र रोजगारदाताको २० प्रतिशत रकम मासिक रुपमा कोषमा जम्मा हुनेछ ।

चालु आर्थिक वर्षभित्र कोषमा सुचिकरण भएमा अन्तमा जम्मा सबै रकम एकमुष्ट पाइन्छ तर आगामी आर्थिक वर्षबाट दर्ता भएका कर्मचारीलाई भने मासिक रुपमा पेन्सन दिने व्यवस्था गरेको कोषले जनाएको छ । 

दर्ता खुल्ला गरेको तीन महिनामा रोजगारदाताले आफ्नो कम्पनी दर्ता गरिसक्नु पर्नेछ र आफ्नो कामदारको सम्पूर्ण विवरण कम्पनी दर्ता भएको तीन महिनामा भर्नुपर्ने छ । 

तर, निर्धारित समयमा कोषमा दर्ता नगरेमा के गर्ने भन्ने विषयमा भने कुनै छलफल नभएको कोष बताउँछ । ‘अहिले हामी सुचना पु¥याउने चरणमा छौं,’ कोषका निर्देशक शंकर नेपालले भने, ‘दर्ता नगरेमा के गर्ने भन्ने अहिल ेनै तय भइसकेको छैन ।’
 

  • प्रकाशित मिति : पुस ३०, २०७५ साेमबार १२:५०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया