देशको संघीय राजधानी काठमाडौं मन्दिरको पनि राजधानी हो । त्यसैले काठमाडौंलाई मन्दिरको शहर पनि भनिन्छ । काठमाडौंका पाइला पाइलामा अनेकौँ देवी देवताका मूर्ति भेटिन्छन् । कतै मन्दिर त कतै खुला नै छोडिएका यहाँका मूर्तिहरूको अवस्था धेरै ठाँउमा दयनीय छ, जस्तै काठमाडौं शहरको अवस्था छ । मन्दिरले चिनाएको काठमाडौंलाई अब फोहोरले चिनाउन थालेको छ ।
आज काठमाडौं उपत्यकामा रहेका मन्दिर र मूर्तिहरू फोहोर जत्तिकै छरपस्ट छन् । यहाँ फुटपाथमा पाइलाले ठोकिने भगवानका मूर्ति भेटिन्छन् । कतै रुख उम्रेर ढल्नै लागेको मन्दिर,पानीले खिइएका, अवीर र अक्षताको असरले प्वाल परेका मूर्ति पनि मन्दिरहरूमा छन् । तर संरक्षण भने अझै भएको छैन । जताततै लापरबाही छ ।
मन्दिर अनि मूर्तिको सुरक्षाका लागि डण्डीको बार मात्रै होइन यहाँ चोरीबाट बचाउन काँडेतार नै टाँगिएका भेटिन्छन् । मन्दिर परिसरमा कतै पुनर्निर्माणका क्रममा टहरा बनाइएको छ भने कतै डण्डी बाँधेर छोडिएको देख्न सकिन्छ । फोहोर अनि झारै झारको बीचमा भगवानको मूर्ति देख्नु यो शहरका लागि नौलो कुरा होइन ।
एकातिर खुला ठाँउमा मूर्ति बेवारिसे र दयनीय अवस्था देखिन्छ भने अर्कोतर्फ चोरीबाट बचाउन विभिन्न सावधानी अपनाइएको छ । यहाँ सिसिटिभी जडान गरिएको छ । चोक चोकमा साइरन राखिएका छन् । तर मूर्तिको र मन्दिरको संरक्षण गर्न भने पहलकदमी हुन सकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।