नेकपा एकीकृत समाजवादी पार्टीका ६ जना सांसदले हस्ताक्षर फिर्ता लिएका छन् । पार्टीको निर्णयमा असन्तुष्टि जनाउँदै अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन मागसहित ध्यानाकर्षण बुझाउने १० मध्ये ६ सांसदले हस्ताक्षर फिर्ता गरेका हुन् ।
पर्यटनमन्त्री प्रेम आलेले नेतृत्व गरेको समूहले हस्ताक्षर फिर्ता लिएको हो । आलेसँगै कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा हस्ताक्षर फिर्ता लिएका छन् ।
शुक्रबारको पोलिटब्युरोको बैठकमा मन्त्री आलेले पार्टीको निर्णय कार्यान्वयन गर्ने बताएका थिए । सोही अनुसार आफूले नेतृत्व गरेको समूहलाई हस्ताक्षर फिर्ता गराउन लगाएका हुन् ।
मन्त्री फेर्ने पार्टीको निर्णयमा असन्तुष्टि जनाउँदै स्थायी कमिटी सदस्य तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाको नेतृत्वमा चार मन्त्रीसहित १० जना सांसदले ध्यानाकर्षण पत्र बुझाएका थिए । स्वास्थ्यमन्त्री खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रममन्त्री कृष्णकुमार श्रेष्ठले पनि हस्ताक्षर गरेका थिए ।
६ सांसदले हस्ताक्षर फिर्ता गरे पनि खतिवडा, झाँक्री, श्रेष्ठ र सांसद नीरा जैरुले हस्ताक्षर फिर्ता गरेका छैनन् । उनीहरूको पनि हस्ताक्षर फिर्ता गराउने प्रयास भइरहेको नेकपा एसका एक नेताले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।