कर्मचारी कुट्ने मन्त्रीमाथि कारबाही माग

काठमाडौं– कर्मचारी युनियले कर्मचारीमाथि हातपात गर्ने मन्त्रीलाई कारबाही गर्नुपर्ने माग राखेका छन् । निजामती कर्मचारी आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी युनियन (संघ) लगायत कर्मचारी संगठनले कर्मचारीमाथि हातपात गर्ने मन्त्रीलाई कारबाही गर्न माग गरेका हुन् ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई ज्ञापन–पत्र बुझाए । पत्रमा उनीहरुले कर्मचारी कुटपिट गर्ने मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

निजामती कर्मचारी आधिकारिक ट्रेड युनियन धनुषा समितिले पनि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै कर्मचारीमाथि हातपात गर्ने मन्त्रीलाई कारबाही गर्न माग गरेको छ । ट्रेड युनियन धनुषाले कार्यस्थलमा कर्मचारीलाई सुरक्षाको प्रत्याभूति दिलाउन पनि माग गरेको छ ।

पूर्वसचिव भीम उपाध्यायले पनि कर्मचारीमाथि हातपात गर्ने मन्त्रीलाई बर्खास्त गर्न माग गरेका छन् । प्रदेश ३ र प्रदेश ७ का मुख्यमन्त्रीले यसअघि पनि आफ्ना मन्त्री बर्खास्त गरिसकेको उदाहरण दिँदै उनले कर्मचारीमाथि हातपात गर्ने मन्त्रीलाई बर्खास्त गर्नुपर्ने बताएका छन्  ।

आइतबार प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले सचिव विद्यानाथ झामाथि हातपात गरेका थिए । सचिव झा अहिले अस्पताल भर्ना भएका छन् ।

मन्त्रीले सिफारिस गरेको गैरसरकारी संस्थालाई कार्यक्रम नपारेको भन्दै आर्थिक मामिला तथा योजना मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर सभामुख सरोजकुमार यादवकै अगाडि कुटपिट गरेको सचिव झाले बताएका छन् ।



यता, प्रदेश २ सरकारले घटनाको छानबिन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको छ । प्रदेश २ का मुख्यसचिव दीपक सुवेदी र कार्यालयका सचिव हरि फुँयाल सम्मिलित टोलीले सोमबारबाटै छानबिन सुरु गरेको बताएको छ । 
 



  • प्रकाशित मिति : पुस ३०, २०७५ साेमबार १७:४२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया