एमालेका १० भाइप्रति नेपालको आक्रोश : पदीय गरिमा छैन, दास बनेर बसिरहेका छन्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट विद्रोह गर्नु जायज भएको बताएका छन् । नेकपा एसको केन्द्रीय कमिटी बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले विद्रोह नगरेको भए अहिले एमालेमा दास भएर बस्नुपर्ने अवस्था आउने बताएका हुन् ।

'नेकपा एमालेमा बाध्य भएर हामीले विद्रोह गर्नुपरेको थियो । अहिलेसम्मको घटनाक्रमले के पुष्टि गर्छ भने त्यो विद्रोह गर्नै पर्थ्यो त्यो जायज थियो । विद्रोह नगरेको भए हामीले दास बन्नुपर्थ्यो या राजनीतिबाट पलायन भएर हिँड्नुपर्थ्यो,' उनले भने ।

उनले आफ्नो साथ छोडेर एमालेमा बसेका १० स्थायी कमिटी सदस्यप्रति पनि आक्रोश पोखेका छन् । १० भाइको दिमागबाट अझै नशा उत्रि नसकेको टिप्पणी गर्दै दास र शोषित ढंगले उनीहरू एमालेमा बसिरहेका तर्क गरे ।

'अहिलेसम्म कसैको आँखा खुलेको छैन भने उनीहरूको पनि आँखा खुलोस् । यी कथित १० भाइका विभिन्न अभिव्यक्ति म सुन्दै छु अझै पनि उनीहरूको दिमागबाट नशा उत्रेको छैन तथानाम/जथाभावी लेखिरहेका छन् । दास शोषित ढंगले उनीहरू त्यहाँ बसिरहेका छन् । कुनै मूल्य र मान्यता उनीहरूको छैन । कुनै पदीय गरिमाको उनीहरूले सम्मान पाएका छैनन् तर पनि अहिले उनीहरूले हामीलाई धारेहात लगाउनका लागि दुस्साहस गरिरहेका छन् ।'

उनले एमालेबाट विद्रो गरेर आफूहरूले संविधानको रक्षा गरेको जिकिर गरे । उनले संविधानलाई मिची प्रतिनिधिसभालाई पटकपटक भंग गरेर राज्यका सबै निकायमा एकलौटी कब्जा गरेर दशकौंसम्म सत्तामा बसिरहने अभिप्रायबाट केपी ओली अगाडि बढेकाले विद्रोह गरेको तर्क गरे ।

'हामीले संविधानको रक्षा गर्यौँ । संविधानलाई मिचेर प्रतिनिधिसभालाई पटकपटक भंग गर्ने अनि राज्यका सबै निकायमा एकलौटी कब्जा गरेर दशकौंसम्म सत्तामा बसिरहने त्यो अभिप्रायबाट केपी ओली अगाडि बढेका हुन् । उनको चाहना देश र जनताको हितमा काम गर्ने हिसाबले होइन । जसरी पनि सत्तामा बसिराख्ने र सत्ताको दुरुपयोग गर्ने कुरा हामीले व्यवहारमा देख्यौँ,' उनले भने ।





  • प्रकाशित मिति : असार ११, २०७९ शनिबार १४:९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया