नेकपा एकीकृत समाजवादीले नेकपा एमालेले आफ्नो पार्टीलाई दलका रुपमा स्वीकार गरे तालमेल वा वामपन्थी एकताका लागि तयार रहेको जनाएको छ ।
शनिबार बसेको केन्द्रीय समिति बैठकले देशभक्त वामपन्थीसँग सहकार्यको सम्भावना रहेको ठहर गरेको छ ।
आजको बैठकमा सत्ता गठबन्धनका पाँच दलबाहेकका दलसँग पनि सहकार्य गर्ने निर्णय भएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनले भने, ‘सबै दलसँग सहकार्य गर्न तयार छौँ। पाँचदलीय गठबन्धनबाहिरका दलसँग पनि खुला छलफल गर्छौं ।’
एकीकृत समाजवादीले केही सर्तसहित नेकपा एमालेसँग पनि सहकार्यका लागि आफूलाई खुला राख्ने निर्णय गरेको छ । जसमा पहिलो सर्तका रुपमा एमालेले आफ्नो पार्टीलाई दलको मान्यता दिएर अस्तित्व स्वीकार गर्नुपर्ने बताइएको छ ।
दोस्रो सर्तका रुपमा एकीकृत समाजवादीले एमालेले आफ्नो पार्टीविरुद्ध अदालत दिएको मुद्दा फिर्ता लिनुपर्ने अघि सारेको छ । त्यसैगरी, संसद विघटनलगायत विषयमा आत्मालोचना गरेमा पार्टी एकता गर्न सकिने प्रवक्ता खतिवडाको भनाइ छ ।
अहिले एमालेसँग पारस्परिक लाभका आधारमा तालमेल वा गठबन्धन गर्न आफूहरु तयार रहेको प्रवक्ता खतिवडाले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।