आवश्यक गणपूरक संख्या नपुगेपछि शुक्रबार स्थगित भएको हेटौंडा उपमहानगरपालिकाको नगर सभा आइतबार हुँदै छ । नगरसभामा बहुमत रहेको नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगरेपछि शुक्रबारको लागि तोकिएको नगर सभा आइतबार गर्ने गरी स्थगित भएको थियो ।
एमालेबाट निर्वाचित नगर सभा सदस्य शुक्रबार सभास्थलमा उपस्थित भएर पनि हस्ताक्षर नगरी बाहिरै बसेका थिए । आइतबार दिउँसो १ बजेका लागि सभा बोलाइएको छ । एमालेले मेयरको अधिकार कटौती गर्नुपर्ने माग राख्दै हेटौंडाको पहिलो कार्यपालिका बैठकदेखि नै सत्तारुढ गठबन्धनबाट निर्वाचित नेकपा (एस) की नेतृ मेयर मीना कुमारी लामालाई असहयोग गर्दै आएको छ । एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ को १५ (२) र १५ (३) मा रहेको व्यवस्थालाई संशोधन गर्नुपर्ने माग राख्दै आएको छ ।
एमालेले नगरसभामा बहुमत रहेको दलसँग समन्वय नै नगरी नीति तथा कार्यक्रम र बजेट तयार पारेको भन्दै विरोध गरेको हो । कुल ९७ नगर सभा सदस्यमध्ये नेकपा एमालेको मात्रै ५४ जना रहेका छन् । नेकपा एमालेले राखेको मागलाई कुनै सम्बोधन नगरी पेलेर नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै एमालेले विरोध जनाउँदै आएको छ ।
यता हेटौंडा उपमहानगरपालिकाका मेयर लामाले जनताको हितमा भन्दा पनि मेयरको अधिकार कटौतीमै एमाले केन्द्रीत हुँदा समस्या बढेको प्रतिक्रिया दिँदै आइतबारको नगरसभामा सहभागी हुन सबैलाई अनुरोध गरेकी छिन् । आफूहरु हेटौंडालाई समृद्ध बनाउन आएको भन्दै उनले हेटौंडाको विकास र हितका लागि सोही अनुसारको निर्णयसहित नीति र कार्यक्रम पास गरेर अघि बढ्न अनुरोध गरिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।