योगेश भट्टराईले सम्झिए माधव नेपालसँगको सम्बन्ध, भन्छन्– उहाँसँग सवालजवाफ गर्नु छैन

नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सवालजवाफ गर्ने आफ्नो कुनै मनसाय नभएको बताएका छन् । पछिल्लो समय भट्टराईले नेपालको विषयमा विभिन्न टिप्पणी गर्दै आएका थिए । 

केही दिनअघि मात्र उनले ‘माधव नेपालले संन्यास लिए हुन्छ’ भन्ने अभिव्यक्ति दिए । आफ्नो अभिव्यक्तिपछि समाजवादीका युवाहरूको मन दुखेको भन्दै भट्टराईले नेपालसँगको सम्बन्धका बारेमा बुँदागतरूपमा लेखेका छन् । 

उनले आज बिहान काठमाडौं–धनगढी हवाई यात्राको क्रममा नेपालसँगको सम्बन्ध सम्झिएका हुन् ।  
 
भट्टराईले माधव नेपालसँगको सम्बन्धका बारेमा सामाजिक सञ्जालमा लेखेका कुरा :

१. पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला उहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।  

२. उहाँमा थुप्रै राम्रा गुणहरू छन्, जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै विरोध गरेको छु । उहाँलाई चिनेदेखि उहाँ र मेरो सम्बन्धमा उतारचढाव रहेका छन् र यो जारी रहने छ ।  

३. नेकपा एमालेको पाँचौं महाधिवेशन (२०४९) मा उहाँ अन्तिमतिर मात्रै जनताको बहुदलीय जनवादका पक्षमा खुल्नु भएको हो । हामी सुरुदेखि नै मदन भण्डारीको नेतृत्व र विचारलाई स्थापित गर्न लागेका हौं । 



४. छैठौं महाधिवेशनमा उहाँ पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन उहाँलाई थिएन । 

५. सातौँ महाधिवेशनबाट उहाँ पुनः पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन उहाँलाई थियो ।  



६. आठौँ महाधिवेशनमा उहाँले आफ्नो धार बदल्नु भयो । हामी उहाँसँग लागेनौँ ।  

७. नवौँ महाधिवेशनमा उहाँ पुरानै धारमा फर्कनुभयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौँ । जित्नु भएन ।  

८. प्रधानमन्त्री केपी ओलीकाविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिन ।  

९. नेकपा एमालेको विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन उहाँलाई मैले साथ दिन सकिन । त्यसमा मलाई पछुतो छैन ।  

१०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको । उहाँ पार्टीको महासचिव । उहाँ र मेरोबीचमा समस्या उत्पन्न भयो । उहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजीनामा गरिदिएँ ।  

११. म मार्क्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरूले मलाई व्यक्ति, घटना र विषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरूप्रति मेरो सदा सम्मान छ । र, मैले कमरेड माधव नेपाललगायत सबैलाई यही मार्क्सवादी दृष्टिकोणबाट हेर्ने गर्दछु । म कसैको अन्ध समर्थक र अन्ध विरोधी होइन ।    

  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार ८:५२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया