नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताएका छन् । सोमबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।
स्थानीय तह निर्वाचनमा पार्टीले २८ प्रतिशत ठाउँमा उम्मेदवार खडा गरेको र ९ लाख मत प्राप्त गरेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा २० लाख मत प्राप्त गर्नका लागि सबै ठाउँमा उम्मेदवार उठाउनुपर्ने बताए । नेपालको सो भनाइले आगामी निर्वाचनमा नेकपा एसले गठबन्धन छाड्ने सम्भावना देखिएको छ । सबै स्थानमा उम्मेदवार उठाउने भएपछि सो पार्टीले गठबन्धनबाट बाहिरिनुपर्छ ।
अध्यक्ष नेपालले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा अधिकतम सफलता हासिल गर्न ध्यान दिन नेता, कार्यकर्तालाई निर्देशन दिए । पार्टीको समानुपातिक मत बढाउनका लागि प्रतिनिधिसभा र प्रदेशसभाको सबै सिटमा अहिलेदेखि नै उम्मेदवार तयार गरेर राख्नुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष नेपालले विश्व शक्ति राष्ट्रहरुका बीचमा द्वन्दका खतराहरु देखिएको भन्दै त्यसमा नेपाल सजग हुनुपर्ने बताए । नेपाली जनतामा देशभक्तिको भावना बलियो बनाउन सकेमा शक्तिराष्ट्रहरुको आन्तरिक द्वन्द्वबाट नेपाललाई बचाउन सकिने उनको भनाइ छ ।
देशभक्तिको पक्षमा जनमत तयार गर्नु र देशभक्त जनतालाई आफ्नो वरपर गोलबन्द गर्नु पार्टीको जिम्मेवारी रहेको पनि उनले बताए । पार्टीको काममा सक्रियतापूर्वक लाग्न र गरेका कामको प्रचार–प्रसार गर्नसमेत उनले निर्देशन दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।