काठमाडौंमा हैजा फैलिएकोबारे कुन सांसदले के भने ?

काठमाडौं उपत्यकामा थुप्रिएको फोहोरका कारण हैजा फैलिएको भन्दै बेलैमा न्यूनीकरण गर्न र आवश्यक तयारी अघि बढाउन सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सांसदहरुले सरकार यसप्रति गम्भीर भएर लाग्नुपर्ने बताएका हुन् । 

सांसदहरुले काठमाडौंका विभिन्न स्थानका पानी कम्पनीको परीक्षण र अनुगमन हुनु आवश्यक रहेको बताए । सांसदहरुले सरकारले हैजा​को त्रास र संक्रमण जताततै फैलिसक्दासमेत अनुसन्धान र तयारी नगरेको गुनासो गरे । 

उनीहरुले सरकारले बेलैमा हैजा नियन्त्रण र न्यूनीकरणका उपाय नगरे यसले भयावह रुप लिनसक्ने बताएका छन् । बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले एकै ठाउँमा मात्रै हैजा नभेटिएकाले गम्भीर अवस्था आइसकेको भन्दै यसबारेमा छानबिन हुन जरुरी रहेको बताए । सरकारका साथसाथै जनताको पनि यसमा जिम्मेवारी रहेकोले बेलैमा सतर्क हुनुपर्ने उनले बताए । काठमाडौंको डिल्लीबजार र बागबजार र ललितपुरको सानेपामा हैजा पुष्टि भइसकेको भन्दै खानेपानीको परीक्षणमा कडाइ हुनुपर्ने उनले बताए । 

त्यस्तै, नेकपा एमालेका सांसद तिलबहादुर महत क्षेत्रीले अहिलेसम्म जारको पानीमा १५ प्रतिशत पानी प्रदुषित रहेको पाइएकोले पानी उत्पादन कम्पनीहरुको निगरानी गर्न आवश्यक रहेको बताए । उनले काठमाडौंमा फेला परेका १२ जना हैजाका बिरामीमध्ये केही बिरामी पानीपुरी खाएका कारण पनि हैजा पुष्टि भएको पाइएकोले यसमा अनुसन्धान हुन आवश्यक रहेको बताए । 

त्यस्तै, नेकपा एमालेका सांसद जगतबहादुर सुनार (विश्वकर्मा)ले हैजाको कुरालाई ध्यान दिएर सतर्कता अपनाउनुपर्ने बताए । वर्षाको समय भएकोले बाढी र पहिरोको अवस्थालाई मध्यनजर गरी त्यसबाट निम्तिने महामारीलाई पनि मध्यनजर गर्नुपर्ने उनले बताए । 

त्यस्तै, नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना विशंखेले सम्भावित जोखिमको आकलन गर्दा विगतको समस्यालाई हेरेर काम गर्नुपर्ने बताइन् । उनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अहिलेको तयारी उचित नरहेको पनि बताइन् ।



त्यस्तै, नेकपा एमालेकी सांसद रेखाकुमारी झाले हैजाको संक्रमणले धेरै फैलिरहे पनि सरकारले अनुसन्धानमा चासो नदिएको बताइन् । एक ठाउँमा मात्रै नभई हरेक क्षेत्रका पानीको जाँच गर्न आवश्यक रहेको बताउँदै उनले काठमाडौंमा केही समय पहिला थुप्रिएको फोहोर र समयमै उठ्न नसक्नुले हैजाको संक्रमण झनै बढेको बताइन् । समयमै न्यूनीकरण गर्न नसके अवस्था भयावह हुने उनको भनाइ छ । 

त्यस्तै, नेपाली कांग्रेसकी सांसद चित्रलेखा यादवले हैजाको विषय गम्भीर बन्दै गएको बताइन् । समितिले यसबारेमा निर्देशन दिने मात्र नभई अनुगमन गर्न आवश्यक रहेको उनले बताइन् । केही दिनयता सरकारले औषधिको मूल्यवृद्धि गरेको समाचार आएको भन्दै उनले आवश्यक औषधिको मूल्यवृद्धि गर्न नहुने उनले बताइन् । 



त्यस्तै, नेपाली कांग्रेसकी सांसद नमिताकुमारी चौधरीले विद्यालयहरुमा पनि पानीको परीक्षण गर्न माग गरिन् । कतिपय अभिभावकले बच्चाहरुलाई विद्यालय जाँदा पानी नपठाउने र विद्यालयमा भएको पानी खाँदा झनै हैजाको त्रास हुने भएकोले विद्यालयमा पानीको परीक्षण हुनुपर्ने उनले बताइन् । 

सांसद चौधरीले सरकारले औषधिको मूल्य बढाइरहेको भन्दै कुन औषधिको मूल्य कसरी बढाउने हो भन्ने जानकारी गराउन माग गरिन् । 

  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार २१:१३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया