सुर्खेत केन्द्र बनाइ कर्णालीका जिल्लामा उडान भर्ने कम्पनीलाई इन्धनमा सहुलियत
फाइल तस्वीर

कर्णालीमा हाल हुम्लाको सिमकोट विमानस्थलमा बढी उडान भएका छन् । वार्षिक सरदरमा सिमकोट विमानस्थलका लागि दैनिक सातदेखि आठ उडान भइरहेका छन् । तर यी उडानहरू भने चार्टर्ड उडान रहेको सुर्खेत विमानस्थलका प्रमुख देवेन्द्र पाण्डे बताउँछन् । 

उनी भन्छन्, ‘निजी कम्पनीहरू सबै व्यापारिक नै हुन् । यसअघि जोमसोम क्षेत्रमा व्यापार बढेपछि उनीहरू उतै गए । कर्णालीमा पनि माग भएपछि उनीहरूले चार्टर्ड उडान भर्छन् । यसरी चार्टर्ड उडान भर्ने गर्दा नागरिकले भने विमान टिकट पाउन मुस्किल पर्छ ।’

कर्णालीमा हाल काठमाडौंबाट दैनिक एक मात्र उडान नियमित रहेको छ । सुर्खेत केन्द्र बनाएर कर्णालीको हिमाली जिल्लामा नियमित उडान भर्ने विमानको संख्या कम छ । डोल्पा र जुम्लाका लागि मासिक रूपमा एक–दुई उडान मात्र भइरहेको पाण्डेको भनाइ छ ।

कर्णालीमा यसअघि विमान टिकटमा एक हजार रुपैयाँ सहुलियत दिइँदै आइएको थियो । सुर्खेत केन्द्र हुँदै कर्णालीका अन्य जिल्लामा विमानमार्फत यात्रा गर्ने ज्येष्ठ नागरिकले विमानको प्रत्येक टिकटमा एक हजार रुपैयाँ प्रदेश सरकारमार्फत सहुलियत दिइएको थियो । ज्येष्ठ नागरिकले कर्णालीका अन्य जिल्लाबाट सुर्खेत विमानमार्फत आउँदासमेत यो सहुलियत पाउने गर्थे ।

कर्णालीका दुर्गम भेगका नागरिकको विमान टिकटमा सहुलियत कार्यक्रममा पहुँचमा कमी आएपछि भने हाल कर्णाली प्रदेश सरकारले सुर्खेत केन्द्र बनाई विमान उडान भर्ने एयरलाइन्स कम्पनीलाई नै इन्धनमा सहुलियत दिने कार्यक्रम ल्याएको छ । 

सुर्खेत केन्द्र बनाई कर्णालीका जिल्लामा उडान भर्ने विमानका लागि सरकारले इन्धनमा सहुलियत दिने भएको हो ।



सुर्खेत विमानस्थलबाट कर्णालीका हुम्ला, डोल्पा, मुगु, जुम्ला र रुकुम पश्चिमका विमानस्थलका लागि हाल उडानको संख्या ज्यादै न्यून छ । जसकारण कर्णालीमा यात्रुले समय-समयमा समस्या भोग्दै आएका पनि छन् । यी विमानस्थलमा अनियमित उडान समस्याले यात्रुहरूलाई समयमा टिकट नपाउने तथा कालोबजारीमा महँगो टिकटमा यात्रा गर्नुपर्ने बाध्यता छ ।

सुर्खेत केन्द्र बनाई कर्णालीका अन्य जिल्लामा उडान भर्ने विमानलाई इन्धन सहुलियत लिने उद्देश्यले कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि एक करोड २० लाख रुपैयाँसमेत विनियोजन गरेको छ ।



कर्णाली प्रदेश सरकारले ल्याएको उडानमा सहुलियत कार्यक्रमले कर्णालीमा नियमित उडानमा प्रभावकारी भूमिका खेल्ने पाण्डेको धारणा छ । 

उनले भने, ‘विमान सेवा प्रदायकलाई कर्णालीमा आकर्षित गर्ने उद्देश्यले प्रदेश सरकारले उडानमा सहुलियत दिँदा त्यसले यहाँको नियमित उडान सेवामा सकारात्मक भूमिका निर्वाह गर्ने देखेको छु । अब सरकारले यससम्बन्धी कार्यविधि पनि निर्माण गर्ला ।’

कर्णालीमा खासगरी प्रदेशका हिमाली जिल्लामा हवाई सेवा प्रदायक कम्पनीले निकै कम मात्रामा उडान भर्न थालेका छन् । यसको प्रभाव सोझै ती रूटमा यात्रा गर्ने कर्णालीवासीमा परेको छ । 

आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले हवाई सेवाप्रदायक कम्पनीलाई उडानमा सहुलियत दिँदा उनीहरू कर्णाली प्रदेशमा उडानतर्फ आर्कषण गर्ने उद्देश्यले उडानमा सहुलियत कार्यक्रम ल्याएका बताए । कार्यक्रमले कर्णालीमा निजी विमान सञ्चालन कम्पनीहरूको उडान संख्यामा वृद्धि गर्ने मन्त्री विष्टले बताए ।

खासगरी हुम्ला तथा डोल्पाका नागरिकलाई यातायातको रूपमा हवाई उडानमै भर पर्नुपर्ने बाध्यता हुन्छ । अनियमित उडानले यी दुई जिल्लाका नागरिक मर्कामा परेका छन् । प्रदेश सरकाले ल्याएको उडानमा सहुलियत कार्यक्रमले यी जिल्लामा हवाई यात्रा गर्ने यात्रु लाभान्वित हुने मन्त्री विष्टले बताए । कार्यविधि निर्माण गरि उडान संख्याका आधारमा हवाई सेवा प्रदायक कम्पनीलाई सहुलियत दिइने उनले बताए । 

  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार १९:४०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया