पूर्वमाओवादी नेताहरूलाई प्रचण्डको आग्रह : लजाउनु पर्दैन, आउनुहोस् फेरि एक हौं
‘एमालेमा माओवादीको बीउ रोपेका छौँ, केही समयपछि फल्छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेमा माओवादीको बीउ रोपेर आएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नेकपा एमालेमा तीन वर्षसम्म बीउ रोपेर आएको र केही समयपछि फुल्ने र फल्ने बताएका छन् । 

प्रचण्डले एमालेभित्र पनि सच्चा कम्युनिष्ट रहेको र उनीहरूलाई पनि समेटेर जानुपर्ने अहिलेको आवश्यक्ता भएको बताए । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व नरहने भने एमालेका नेता र कार्यकर्तालाई पनि सँगै समेटेर जान सकिने बताए ।  

‘माओवादी मात्रै मिलेर हुन्छ भन्ने भ्रममा पनि हामी नपरौँ । माओवादीबाहेकका सच्चा कम्युनिष्ट पनि बाहिर छन् । बाहिरका सबै अवसरवादी मात्रै छन् भन्ने भ्रम पनि राख्नुहुँदैन । मैले अस्ति भर्खरै प्रतिनिधिसभाको रोष्टमबाट भनेको थिएँ । नेकपा एमालेमा पनि केपी ओली प्रवृत्ति नहुने हो भने र नेतृत्व त्यो नहुने हो भने अरू हजारौँ, कार्यकर्ता, नेतालाई आरामसँग समाजवादको यात्रामा डोर्‍याउन सकिन्छ भन्ने मेरो विश्वास छ,’ प्रचण्डले भने, ‘३ वर्षको मेरो अनुभव भनेको एमालेभित्रका कार्यकर्ता र नेताहरूलाई पनि एकीकृत र केन्द्रीकृत गरेर लैजान सकिने रहेछ भन्ने अनुभव हो । सकिएन नि त, बिग्रियो नि त भन्ने लाग्ने सक्छ तर त्यहाँ बीउ रोपिएको छ, हामी माओवादीले बीउ रोपेर आएका छौँ, हेर्नुहोला, केही समयपछि त्यो फुल्छ फल्छ ।’ 

उनले सबै माओवादी मिल्नुको विकल्प नरहेको भन्दै नेत्रविक्रम चन्द र मोहन वैद्यलगायतका नेतालाई माओवादीमै फर्किन आग्रह पनि गरे । प्रचण्डले जनताको आवाज भनेकै पूर्वमाओवादीहरू सबै एकै ठाउँ रहनु भन्ने रहेकोले जनताको आवाजलाई अन्सुनी र अन्देखा गर्न नमिल्ने बताए । उनले सबैले आत्मसमीक्षा गरेर सबै माओवादी एकजुट भइ जनतामाझ जानुपर्ने पनि बताए । प्रचण्डले आफूबिना कसैले पनि माओवादी आन्दोलनलाई एकीकृत र केन्द्रीकृत गर्न नसक्ने दाबीसमेत गरे ।

‘माओवादी सबै एकै ठाउँमा हुनुपर्छ । यो सबैतिर छ, कसैले थेग्न सक्दैन । एकता अपरिहार्य छ । यो जनताको माग हो । जनताको मागलाई अन्देखा र अनसुनी गर्नुहुँदैन । कोही नेताहरूलाई फेरि प्रचण्डकोमा नै जाने भन्ने लाज लाग्न सक्ला, लजाउनु पर्दैन । यो दबाब जनताले दिएका छन् । त्यसैले सबैले आत्मसमीक्षा गरौँ, एकपटक हामी एकै ठाउँमा उभियौँ मात्र भने भौतिक शक्तिमा परिवर्तन हुन्छ, कसैले त्यो शक्तिलाई रोक्नै सक्दैन । यथार्थ त्यही नै हो कसैलाई मीठो नलाग्न पनि सक्छ । माओवादी आन्दोलनलाई एकीकृत र केन्द्रीकृत गर्न प्रचण्डबिना सम्भव छैन । मेरा थुप्रै कमजोरीहरू भएपनि यथार्थ आजपनि त्यही नै हो,’ उनले भने ।

प्रचण्डले आफ्नो उदारतावादीले कहिलेकाहीँ धोका खाएको पनि बताए । एमालेका उपाध्यक्ष रामबहादुर थापाप्रति लक्षित गर्दै बाटो छोडेको मान्छेलाई महासचिव र गृहमन्त्री बनाउँदासमेत अहिले अत्तोपत्तो नभएको भन्दै उनले नयाँलाई जिम्मेवारी दिन सोच्नुपर्ने बताए ।  





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार ११:४८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया