बागमती प्रदेशसभाको बुधबारको बैठक एकछिन हाँसोमय बन्यो । सांसदको प्रश्नको जवाफ दिन रोस्टममा पुगेका मन्त्रीले प्रदेश सरकारलाई नै प्रश्न गर्न थालेपछि हाँसोमय बन्न पुगेको हो ।
हाल सञ्चालन भइरहेको बागमती प्रदेशसभामा विनियोजन विधेयक २०७९ को छलफलका क्रममा बागमती प्रदेशका भूमि व्यवस्था सहकारी तथा निवारणमन्त्री बलराम पौडेलले बजेट पुगेन, अधिकार पाइएन भन्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेललाई प्रश्न गर्न थालेपछि प्रतिपक्ष दलका सांसदले समेत हाँस्दै टेबल ठटाउँदै मन्त्री पौडेलको भनाइप्रति सहमति जनाए ।
बागमती प्रदेशसभामा विनियोजन विधेयक-२०७९ को विभिन्न शीर्षक अन्तर्गतको भूमि व्यवस्था सहकारी तथा निवारण मन्त्रालयमाथिको क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पौडेलले मन्त्रालयको नाम अनुसारको मन्त्रीलाई अधिकार नभएको भन्दै प्रदेश सरकारसँग अर्थ व्यवस्थाको दायरा बढाइदिन माग गरेका हुन् ।
मन्त्री पौडेलले भने, ‘मन्त्रालयको नाम सुन्दा गज्जब सुनिन्छ । तर मन्त्रालयको नामजस्तो काम र अधिकार भएन । अधिकार दिनुपर्यो पहिला । भूमि व्यवस्था भनेको छ, भूमिमा केही गर्न पाइँदैन । गरिबी निवारण भनेको छ । गरिबी निवारण गर्न त पाइन्थ्यो होला तर बजेटको व्यवस्था छैन । त्यसकारण गर्दा मन्त्रालयको नाम जस्तै अधिकार दिन पनि आवश्यक छ ।’
मन्त्री पौडेलले मन्त्रालयका लागि छुट्याएको बजेट एउटा गाउँपालिकाको जति पनि नभएको समेत बताए । मन्त्री पौडेलले यति बताइरहँदा हाँस्दै टेबल ठोकिरहेका प्रमुख प्रतिपक्ष दलका सांसदको मुख र हात त्यतिबेला बन्द भयो जब प्रश्न अघिल्लो सरकारतर्फ मोडियो ।
'विभागीय मन्त्रीले पनि प्रश्न गर्यो भन्ने कुरा होइन । कहीँ थपघट गर्ने ठाउँ छ भने थप्दिन पर्यो भन्न पाइन्नँ र', भूमि व्यवस्था सहकारी तथा निवारण मन्त्री पौडेलले भने ।
यति बोलुन्जेल प्रतिपक्षको हाँसो र सरकार पक्षमा मौनता छाइरहेको बेला जब मन्त्री पौडेलको बोली फेरियो तब हाँसोको स्थान पनि फेरिन पुग्यो ।
मन्त्री पौडेलले सांसदको प्रश्नको जवाफ दिने क्रमको अन्त्यमा नेकपा एमालेका प्रदेशसभा सदस्य केशव राज पाण्डेको देशको तेस्रो स्थान ओगेटेको सहकारीका लागि मन्त्रालयले केही गर्न सकेन भन्ने प्रश्नमा हाँस्दै उत्तर दिँदै भने, 'म मन्त्री भएको त भर्खर ५ महिना त भयो । तपाईंको सरकारले ४ वर्ष मन्त्रालय चलाउँदा चाहिँ के गर्नुभयो ?'
मन्त्री पौडेलले उल्टै प्रश्न गरेपछि सरकार पक्षका सांसद तथा मन्त्रीमा हाँसो गुन्जियो । प्रमुख प्रतिपक्ष दलका सांसदको मुहारमा मौनता छाउन पुग्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।