लेखापरीक्षण गर्ने विधि र पद्धतिका त्रुटीबारे समीक्षा गर्नुपर्छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले बेरुजुका विषयमा सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक रहेको बताएका छन् ।

बुधवार महालेखा परीक्षक कार्यालयको ७४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारको अहिलेसम्म लेखापरीक्षण गर्ने विधि र पद्धतिमा कहाँ त्रुटि भएको हो त्यसको अध्ययन, अनुसन्धान गर्न आवश्यक रहेको बताएका हुन् । 

उनले लेखापरीक्षण गर्ने सरकारको विधि, पद्धतिमा त्रुटि भएर बेरुजुमा एकपछि अर्को जटिलता बढ्दै गएको बताए । 

उनले भने, ‘बेरुजु सम्बन्धमा हामीले अहिलेसम्म अपनाएका विधि र पद्धति विषयमा आवश्यक समीक्षा गर्नुपर्ने महशुस गरेको छु । हाम्रो लेखापरीक्षण गर्ने विधि र पद्धतिहरुमा कहाँ त्रुटि छ । किन एकपछि अर्को जटिल बन्दै गएको छ भन्ने कुराको फेरि पनि अध्ययन अनुसन्धान र निराकरणको आवश्यकता मैले महशुस गरेको छु ।' 

अर्थमन्त्री शर्माले लेखापरीक्षकमार्फत सार्वजनिक इकाइहरुमा जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्दै सुशासन प्रवर्द्धन गर्न महालेखा परीक्षकको महत्वपूर्ण भूमिका रहेको पनि बताए । 

उनले सार्वजनिक खर्च तथा स्रोतको दुरुपयोग, राजश्वमा भएको चुहावट, हिनामिना, औपचारिक क्षेत्रबाट अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव र सार्वजनिक तथा संगठित संस्था सञ्चालनका विषयहरु महालेखापरीक्षकले थप ध्यान दिनुपर्ने बताए । 



अर्थमन्त्री शर्माले पछिल्लो समय अर्थतन्त्रको आकार फराकिलो हुँदै गएपनि आर्थिक गतिविधिका परिसूचकहरुमा उत्तारचढाव आइरहेको बताए । उनले अर्थतन्त्रमा पछिल्लो समय किन आर्थिक गतिविधिका परिसूचकहरुमा उत्तारचढाव भएको विषयमा अर्थतन्त्रको गहन अध्ययन, विश्लेषण र मूल्यांकन गर्न जरुरी देखिएको दाबी गरे ।
 



  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार १६:१८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया