धान दिवस : कृषिमन्त्रीलाई भेटेर पौडेलले दिए तत्काल मल ल्याउन दबाब

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल राष्ट्रिय धान दिवसको अवसर पारेर कृषिमन्त्री भेट्न सिंहदरबार पुगेका छन्। कृषकलाई तत्काल रासायनिक मलको व्यवस्था मिलाउन आग्रहका लागि उनी कृषिमन्त्री महिन्द्र राय यादवलाई भेट्न सिंहदरबार पुगेका हुन्। 

‘आज धान दिवस भनेर सबैले शुभकामना व्यक्त गर्नुभयो। मौखिक शुभकामनाले किसानल राहत पाउने, मल पाउने सम्भावना हुँदैन। किसानको मुख्य समस्या भनेको मलको अभाव हो,’ मन्त्रीसँगको भेटपछि पौडेलले भने, ‘अहिले किसानले मल नपाएको स्थिति छ। यो कुरालाई तत्काल सम्बोधन गर्न आवश्यक छ। यिनै कुरामा सरकारको ध्यानाकर्षण गर्न मन्त्रीजीसँग छलफलका लागि आएको हुँ।’

राज्यका तर्फबाट सहुलियत दिने काम सरकारको भएको भन्दै पौडेलले भने, ‘सरकारले आफ्नो उपस्थिति देखाउन पनि त्यो गर्नुपर्ने हुन्छ। किसानले सहजै मल नपाउने कुरा स्वाभाविक होइन।’

उनले किसानलाई अगामी दिनमा यस्तो समस्या हुँदैन भन्ने प्रतिबद्धता सरकारबाट दिलाउन खोजेको पनि बताए। जवाफमा मन्त्री यादवले मल उपलब्ध गराउन नसक्नुका कारण बारे जानकारी दिएको पौडेलले बताए।
  
‘पहिलो त अन्तराष्ट्रिय बजारमा मलको मूल्य बढेको छ। जसले गर्दा टेन्डर आह्वान गर्दा पनि ठेक्का नहालेको स्थिति बन्यो। दोस्रो, कोभिडका कारणले हामीले जति अगाडि तयारी गर्न खोज्दा पनि सम्भव भएन,’ मन्त्री यादवको भनाइ उद्धृत गर्दै उनले भने, ‘तेस्रो कुरा हामीले भारतसँग जुन सम्झौता गर्यौँ त्यो सम्झौता बमोजिम समयमा मल प्राप्त भएन। आदि कारणले मल उपलब्ध गराउन नसकेको हो भनेर उहाँले भन्नुभयो।’

छलफलका क्रममा मन्त्री यादवले असार मसान्तसम्म ७६ हजार मेट्रिक टन रासायनिक मल आउने जानकारी पनि दिएका छन्। यद्यपि आउन लागेको उक्त मल आवश्यक पर्ने मलको २० प्रतिशत मात्र भएको नेता पौडेलले बताए।





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार १८:४०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया