महँगी नियन्त्रणका देशव्यापी बजार अनुगमन गर्छौं, आनाकानी गरे कारबाही गर्छौं : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले महँगी नियन्त्रणका लागि सरकारले देशव्यापी बजार अनुगमन गर्ने बताएका छन् । बुधबार वाणिज्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्न लागेको बताएका हुन् । 

सरकारले संघ, प्रदेश, जिल्ला प्रशासन र स्थानीय तहका सबै संयन्त्र परिचालन गरेर बजार अनुगमन प्रभावकारी बनाउने बताए । इन्धनको एक्कासि मूल्य बढेपछि खाद्यान्न, औषधि र सेवाको मूल्यमा गरिएको मूल्यवृद्धि घटाउन र उपभोक्तालाई राहत दिन देशभर एकैसाथ एउटै समयमा अनुगमन गर्ने तयारी गरेको मन्त्री बडूले बताए । 

देशव्यापी बजार अनुगमन गर्न र मूल्य नियन्त्रण गर्न अनुगमन तथा निरीक्षण अधिकृत तोक्न जिल्ला प्रशासन र स्थानीय तहलाई पत्राचार गरिसकिएको भन्दै उनले इन्धनको मूल्य उच्च रुपमा बढ्दै गएसँगै अकासिएको बजार मूल्य नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

मन्त्री बडूले नेपाल आयल निगमको कर नघटाईकन मूल्य घटाएको भन्ने प्रश्नको जवाफ दिँदै अर्थ मन्त्रालयले शोधभर्ना दिने भएकाले मूल्य घटाएको बताए । कर घटाउने र कर बढाउने कुरा अर्थ मन्त्रालयको जिम्मेवारीभित्र रहेको उनले बताए । मन्त्री बडूले मन्त्रिपरिषद्को निर्णयले आयल निगमले मूल्य घटाएको र अहिले निगमले घटाएको मूल्यमा खरिद गरिरहेको दाबी गरे । 

करको दर घटाउने कुरामा अर्थ मन्त्रालयसँग कुनै विवाद नभएको भन्दै उनले कर कहाँ समायोजन गर्ने, कति घटाउने, अर्थमन्त्रालयको काम भएकाले कर नघटाए राज्य कोषबाट इन्धन किन्न पैसा दिनुपर्ने बताए । 

मन्त्री बडूले इन्धनको मूल्य घटाए पनि बजारमा त्यसको कार्यान्वयन भए÷नभएको निगरानी गर्ने कुरा सरकारको प्राथमिकतामा रहेको बताए । यातायातको ढुवानी बढेकाले बजारमा मूल्यवृद्धि बढेको र यातायात मन्त्रालयलाई ढुवानी भाडा नियन्त्रण गर्न आग्रह गरिएको उनले बताए । 



मन्त्री बडूले सरकारले बजारलाई हस्तक्षेप गरेर बजारलाई नियन्त्रण भन्दा बाहिर जान नदिने प्रतिबद्धता जनाए । सरकारले तीब्र रुपमा बजार अनुगमन गर्ने र बजारमा वस्तुको मूल्य घट्न घटाउन नचाहने प्रवृत्ति देखिए तत्काल नियन्त्रणमा लिएर कानुनअनुसार कारबाही गर्न मन्त्री बडूले निर्देशन दिए । 
 



  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार १८:५४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया