logo-img

रक्षा मन्त्रालयले संसदीय समितिको निर्देशन अवज्ञा गर्‍यो : भीम रावल
फाइल तस्वीर

नेकपा एमालेका सांसद डा. भीम रावलले नेपाल संसदीय समितिले दिएको निर्देशन रक्षा मन्त्रालयले अवज्ञा गरेको आरोप लगाएका छन् । बुधबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै सांसद रावलले रक्षा मन्त्रालयले संसदीय समितिको अवज्ञा गरेको आरोप लगाएका हुन् । 

उनले समितिले अमेरिकी सरकारसँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौताबारे जानकारी गराउन निर्देशन दिए पनि त्यसको अवज्ञा गर्दै रक्षा मन्त्रालयको तर्फबाट कागजातउपर सम्झौता गराउने सम्बन्धमा मन्त्रिपरिषद्को निर्णय यसलाई अघि नबढाउने भएको हुनाले यो व्यहोरा सम्मानित समितिमा सभापतिबाट निर्देशित गराउँछु भन्ने पत्र पठाइ समितिकै अवज्ञा गरेको बताए । 

सांसद रावलले कानूनी र प्रशासनिक दृष्टिकोणबाट पनि यो समितिको निर्देशन विपरितको पत्र भएको दाबी गरे । उनले समितिले बारम्बार एसपीपीको बारेमा स्पष्ट जानकारी सरकारसँग माग गरे पनि सरकारले अमेरिकालाई पठाएको पत्र वा मन्त्रीपरिषदको निर्णय नै नपठाइ बिना अर्थको पत्र समितिमा पठाएको बताए । उनले संविधानले अख्तियार प्रदान गरेको समितिलाई कुनै एउटा मन्त्रालयले यस किसिमको पत्र लेख्न नसक्ने जिकिर गरे ।

'संविधानले अख्तियार प्रदान गरेको यस्तो समितिलाई यस्तो पत्र, एउटा मन्त्रालयले कसरी लेख्न सक्छ । त्यसकारण यो आपत्तिजनक छ । यो पत्रले हामीले माग गरेको कुरालाई सम्बोधन गर्दैन । नेपाल सरकारले अमेरिकालाई कस्तो पत्र पठायो, त्यो भएको भए समितिलाई जानकारी हुन्थ्यो' उनले भने, 'मन्त्रिपरिषद्को निर्णय जस्ताको त्यस्तै गरेर पठाएको भए समितिलाई जानकारी गराउने भए हुन्थ्यो । त्यो पनि पठाउनु भएन, नेपालको संविधानले सामान्य नागरिकलाई त सूचनाको हक दिएको छ भने संघीय संसदको संयुक्त समितिलाई यस्तो पत्र लेख्ने कुरा समितिको निर्णयको अवज्ञा हो ।’

सांसद रावलले समितिको बारेमा नेपाल सरकार र सम्बन्धित निकायलाई राम्रोसँग जानकारी नरहेको भन्दै मन्त्रालयको समितिलाई पठाएको पत्र आपत्तिजनक रहेको बताए ।





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया