धान दिवस : हिलो खेल्नेलाई मस्ती, मल नपाउने किसानलाई सास्ती

असार १५ गते राष्ट्रिय धान दिवस । देशभर धान दिवसका अवसरमा विभिन्न कार्यक्रमहरू भए । कतै मन्त्रीले मेसिनबाट धान रोपे त कतै विभिन्न संघ संस्थाका प्रतिनिधि, कर्मचारी तथा अन्य क्षेत्रका मानिसले पनि धान रोपाइँ गरेर धान दिवस मनाए । सामाजिक सञ्जाल धान दिवसको शुभकामनाले रंगिन बन्यो । 

किसानसँगै हातेमालो गरेर धान दिवस मनाउन पुगेका केही थान मानिसलाई धान रोपाइँले जति रमाइलो दियो त्यति रमाइलो साँच्चै जीवन चलाउनकै धान रोप्नेहरूलाई भने मिल्न सकेन । 

महँगो धानको बिउ तथा रसायनिक मलको अभावले मन पोल्दै धान रोपाइँ गर्न हिलोमा टेकेका र असार १५ मा मात्रै हिलो देखेकाहरूको मुस्कान फरक देखिन्थ्यो ।  

हेटौंडा ६ चौघडाका नवराज कार्कीको १० कठ्ठा खेतमा बुधबार रोपाइँ थियो । बिउ, ट्याक्टर, खेताला सबै जुटाएर बुधबारका लागि रोपाइँको दिन ठेगान गरेका उनलाई धानमा हाल्ने डिएपी मल नपाएपछि बेर्थै रोपाइँ गरेछुजस्तै लागेको बताउँछन् । 

१ बिगाहा खेतमा धान रोप्नका लागि कम्तिमा पनि ८० देखि ९० किलोसम्म डिएपी मल आवश्यक रहेका उनले अहिलेसम्म १ किलो मल पनि पाएका  छैनन् । अघिल्लो खेतीका रूपमा रहेको मकैबालीमा पनि युरिया मल हाल्न नपाएकै कारण घोगा नै नलागेको कार्की बताउँछन् । 



‘खर्च गरी गरी मकै रोप्यौँ । मल हाल्ने बेलामा कतै मल नपाएपछि एउटै दान लागेन । त्यही मकै फाँडेर अहिले धान रोप्न लाग्या छौं । अहिलेसम्म पनि मलको अत्तोपत्तो छैन । डिएपी मल पाएनौं भने यो रोपाइँको पनि अर्थ नै हुँदैन । मल नभएपछि बिरुवा पहेँलो भएर जान्छ । धान फल्ने त के पराल पनि काम लाग्दैन होला', कार्कीले भने ।   

सोही ठाउँकी कुमारी राईको पनि ९ कठ्ठा खेतको रोपाइँ शुक्रबारको लागि ठेगान गरेर खेताला खोजिसकेकी छिन् । बिहीबार उनको खेत हिल्याउने काम छ । रोपाइँ गर्नेभन्दा पनि रोपाइँ गर्नुअघि तथा रोपाइँको भोलिपल्टै धानमा हाल्नलाई मल नभएपछि काढेको बिउ रोपौँ कि नरोपौँजस्तै भइरहको उनले सुनाइन् । 



उनले भनिन्, ‘जहिल्यै यस्तै हुन्छ । कति खर्च गरेर हामीले खेती गर्छौं । कहिले मल पाइँदैन, कहिले खोजेको जस्तो बिउ पाइँदैन । दुःख खेर मात्रै जान्छ । अहिले  चाहिने बेलामा डिएपी मल नपाएर तनाव छ । भोलिपर्सि युरिया मल पाइँदैन डिएपी मात्रै पाइने होला । दिक्क लाग्छ ।’ आफ्ना दु:ख सरकारले कहिल्यै नदेखेको भन्दै राईले गुनासो गरिन् । 

साल्ट ट्रेडिङले सकाइसक्यो कोटा

साल्ट ट्रेडिङ कर्पोरेशन हेटौंडा शाखाले चालु आर्थिक वर्ष २०७८÷०७९ का लागि आएको कोटाको मल वितरण गरिसकेको साल्ट ट्रेडिङ कर्पोरेशन हेटौंडाका प्रमुख मोहन प्रसाद बरालले बताए । 

कृषि मन्त्रालयको सिफारिसमा साल्ट ट्रेडिङले मकवानपुरको १० वटा स्थानीय तहका लागि ५ हजार टन युरिया मल र ५ हजार टन डिएपी मल वितरण गरेको बरालले जानकारी दिए । 

उनका अनुसार साल्ट ट्रेडिङले ३० प्रतिशत मात्रै उपलब्ध गराउने गरेको छ । चालु आर्थिक वर्षका लागि तोकिएअनुसार मल स्थानीय तहमा पुगिसकेको बताउँदै कार्यालय प्रमुख बरालले भने, 'हामीले मकवानपुरका लागि दिनुपर्ने मल उपलब्ध गराइसक्यौँ । यो वर्षका लागि यति नै मात्रै सम्झौता भएको थियो । सोहीअनुसार उपलब्ध गराएका हौँ । साल्ट ट्रेडिङको ढिला सुस्तीका कारण मल अभाव भएको भने होइन ।' 

बरालका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा मकवानपुर जिल्लाका लागि २९ हजार टन रसायनिक मल उपलब्ध गराएको थियो । तर, चालु आर्थिक वर्षका लागि भने १० हजार टन मात्रै उपलब्ध गराएको उनको दाबी छ । 

३५ प्रतिशत रोपाइँ सम्पन्न

जिल्लामा हालसम्म ३५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिलामा मकवानपुरे १,सावित्री,वार लगायतको धान लगाइँदैछ । जिल्लाको हेटौंडा उपमहानगरपालिका, मनहरी, मकवानपुरगढी, बकैया र बागमती गाउँपालिकामा बढी धान उत्पादन हुने क्षेत्र हो । 

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाअन्तर्गत मकवानपुर जिल्लाका प्रमुख केपी पौडेलका अनुसार जिल्लामा हालसम्म ३५ प्रतिशत धान रोपाई भएको छ । 

जिल्लामा वर्षे र चैते धान गरी ११ हजार ३ सय ९५ हेक्टर क्षेत्रफलमा धान खेती हुनेमा वर्षे धानमा ९ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदैछ । वर्षे धान रोपाइँमा हालसम्म ३५ प्रतिशत रोपाइँ सम्पन्न भएको पौडेलले बताए ।

उनले गत वर्ष वर्षे र चैते धान गरी मकवानपुरमा ४३ हजार ५ सय ६५ मेट्रिक टन धान उत्पादन भएको बताउँदै यस वर्ष बाढी र पहिरोले असर नगरे र किसानले समयमै रसायनिक मल,बिउ पाएको अवस्थामा १० प्रतिशत उत्पादनमा वृद्धि हुने अनुमान रहेको बताए ।

  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार २१:२०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया