मनसुन सक्रिय भएपछि सुदूरपश्चिममा विपद् व्यवस्थापन कार्यदल गठनको तयारी

मनसुन सक्रिय भएपछि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका नौवटै जिल्लामा विपद् व्यवस्थापन कार्यदल गठन गर्ने निर्णय गरेको छ । विपद् व्यवस्थापन तथा प्रकोप न्यूनीकरणका लागि प्रदेश सरकारले प्रदेशको नौवटै जिल्लामा पाँच–पाँच सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । 

मुख्यमन्त्री एवं विपद् व्यवस्थापन परिषद्का अध्यक्ष त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले मनसुनी पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७९ बनाएर सबै मन्त्रालय, प्रदेशस्थित सबै सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समितिलाई विपद् पूर्वतयारी गरी धनजनको क्षति हुन नदिनसमेत निर्देशन दिएको छ । 

यस्तै, प्रकोपको बेला सवारी आवागमन सुचारु राख्न आवश्यक पर्ने जनशक्ति, हेभी इक्विपमेन्ट, ढुंगा, रबर बोट एवं अन्य व्यवस्थापकीय कार्यहरु समन्वयात्मक र प्रभावकारी बनाउने निर्णय गरेको सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव एवं विपद व्यवस्थापन परिषद्का सदस्यसचिव रामेश्वर दंगालले जानकारी दिए । 

यसका लागि तीनवटै सुरक्षा निकायलाई तत्काल १०–१० लाख रुपैयाँ र नौवटै जिल्ला विपद् व्यवस्थापन समितिहरुलाई पाँच–पाँच लाखका हिसाबले रकम उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको छ ।
 
बैठकले विपद् पीडितलाई प्रदेश विपद् व्यवस्थापन तथा राहत वितरण निर्देशिका २०७६ बमोजिम राहत रकम तत्काल वितरण गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई जिम्मेवारी दिएको छ । उक्त निर्णय अनुसार प्रदेश सरकारबाट प्रदान गरिने राहत वितरण गर्ने कार्यमा प्रत्येक जिल्लामा आन्तरिक मामिला तथा कानून मन्त्रालयले तोकेको प्रतिनिधि वा प्रदेशस्तर कार्यालयको प्रतिनिधिको संयोजकत्वमा कार्यदल रहनेछ । 

जसमा जिल्ला प्रशासन कार्यालय प्रतिनिधि, विपद् घटेको स्थानीय तहको विपद् सम्पर्क व्यक्ति, नेपाल प्रहरी, नेपाल रेडक्रस वा विपद् सम्बन्धी कार्य गर्ने गैरसरकारी संस्थाको प्रतिनिधि रहने जनाइएको छ ।





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार १९:५५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया