किसानको अनुदान पनि झोलामा, खोला पनि झोलामा हुँदा कृषकलाई समस्या : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रको पहिचान र उत्पादनमा हाम्रो लगाव कम हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।

७१औँ मदन जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले बुधबार शीतल निवासमा आयोजित एक कार्यक्रममा उनले पछिल्ला वर्षहरूमा नेपालको कृषि क्षेत्र नाश हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेकी हुन् । 

आफू पनि किसान परिवारबाट आएको व्यक्ति बताउँदै राष्ट्रपति भण्डारीले नेपालको कृषि क्षेत्रको व्यापक सुधार आजको खाँचो भएको बताइन् । उनले भनिन्,‘म पनि किसान परिवारबाटै आएको हुँ, मलाई कृषि पेसाका धेरै समस्या थाहा छन्, हाम्रो कृषि क्षेत्रका समस्या सुधार नगरेसम्म हाम्रो उत्पादन प्रणाली राम्रो हुँदैन ।’

उनले किसानले पाउनुपर्ने अनुदान झोलामै र खोला पनि झोलामै हुनु आजको समस्या भएको बताइन् । उनले भनिन्, ‘किसानलाई दिनुपर्ने अनुदान पनि झोलामा, खोला पनि झोलामा भएका कारण कृषकहरूलाई समस्या भयो, यसको सुधार गर्न आवश्यक छ ।’

उनले नेपालको खाद्य उत्पादन घट्दै जाँदा खाद्यान्नमा पराश्रित हुँदै गइरहेको बताइन् । राष्ट्रपति भण्डारीले अझै पनि मुलुक कृषि प्रधान नै भएको बताउँदै कृषि पेसालाई हेलाको दृष्टिबाट हेर्ने सोच परिवर्तन गर्न आवश्यक रहेको बताइन् । 

कार्यक्रममा कृषि तथा पशुपक्षीमन्त्री महेन्द्र राय यादवले कृषि क्षेत्रमा बजेट अपुग भएको बताए । उनले परम्परागत कृषि पेसाबाट हटेर कृषिलाई व्यवसायीकरण गर्नुपर्ने बताए । 



मदन भण्डारी फाउण्डेसनको आयोजनामा भएको कार्यक्रममा फाउण्डेसनकी अध्यक्ष उषाकिरण भण्डारी, सह–सचिव रामकृष्ण श्रेष्ठ, सांसद विमला राई पौड्याललगायतको सहभागिता थियो ।



  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार २१:४५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया