भारतीय क्रिकेट टोलीका नियमित कप्तान रोहित शर्माले १ जुलाईदेखि बर्मिङ्घममा सुरु हुने इंग्ल्याण्डविरुद्धको टेस्ट गुमाउने भएका छन् । उनलाई केही दिनअघि कोरोना संक्रमण देखिएको थियो ।
रोहितको अनुपस्थितिमा भारतीय टोलीको कप्तानी तीव्र गतिका बलर जसप्रित बुमराहले गर्ने भएका छन् । उनी पहिलोपटक कप्तानको भूमिकामा देखिन लागेका हुन् ।
रोहितको बुधबार गरिएको कोरोना जाँचमा पुनः पोजिटिभ आएको थियो । बिहीबार फेरि कोरोना परीक्षण गरिनेछ । ३६ वर्षपछि पहिलोपटक कुनै पनि तीव्र गतिका बलरले भारतीय टोलीको कप्तानी गर्न लागेका हुन् । पछिल्लोपटक सन् १९८६ मा कपिल देवले भारतीय टेस्ट टोलीको कप्तानी गरेका थिए ।
यो टेस्ट श्रृंखला गत वर्ष नै हुनुपर्ने थियो । तर, कोरोनाका कारण सम्भव नभएपछि अहिले हुने लागेको हो । कप्तान रोहित यही श्रृंखलाका लगि खेलिएको लिस्टरशरविरुद्धको अभ्यास खेलका क्रममा कोरोना संक्रमित हुन पुगेका थिए ।
इंग्ल्याण्ड जानुअघि भारतीय क्रिकेट टिमका अर्का महत्वपूर्ण खेलाडी रविचन्द्रन आश्विन पनि कोरोना संक्रमित भएका थिए । अहिले उनी कोरोनामुक्त भई भारतीय टोलीमा सामेल भइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।