रामचन्द्र पौडेल भन्छन् - अर्बौंको चलखेल गरेर आयल निगमलाई व्यापारीको हातमा दिने तयारी हुँदैछ
फाइल तस्वीर

सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौंको आर्थिक चलखेल गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको गम्भीर आरोप लगाएका छन् ।

६४ औं संसद दिवसको अवसर पारेर पूर्वसभामुख समेत रहनु भएका वरिष्ठ नेता पौडेलले सरकारमाथि सो आरोप लगाएका हुन् । उनले नेपाल आयल निगम व्यापारीको हातमा दिएर अर्बौं कमाएर राजा बन्ने ध्यानमा सरकारमा रहेका मन्त्रीहरु लागेको भन्दै आपत्ति जनाए । 

प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले आयल निगम व्यापारीलाई दिन लागेको हो भनेर प्रश्न गर्न चाहेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले यो विषयलाई सञ्चार माध्यमहरुले अघि ल्याउनुपर्ने बताए । 

'अहिले पनि म फेरि सुन्दैछु । आयल निगमलाई पनि यस्तो व्यापारीको हातमा दिने चलखेल भइराखेका छन रे । र, तपाईंहरूलाई म सुनाउन चाहन्छु–त्यो चलखेल जो हुन्छन नि । यो चलखेलको पछाडि करोड होइन, अर्ब कमाएपछि त्यो नेतालाई कसले छुन सक्छ ? त्यो आजीवन राजा हुने भइहाल्यो नि । यसैमा पनि खेलबाड । म के भन्नु चाहन्छु भने ७० वर्ष लडेर यो देशमा बल्लबल्ल व्यवस्था टुंगो लागेको छ । यसलाई पनि काम लागेन भनेर फेर्न खोज्ने काम नगरौं’ उनले भने

वरिष्ठ नेता पौडेलले किसानहरुलाई अझै मलको व्यवस्था गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे । उनले समाजवादको ठूल्ठूला गफ दिने ठूला दल र तिनका नेताहरुले किसानलाई मलको मारमा पारेको देख्दा दुःख लाग्ने गरेको पटकपटक दोहोर्‍याए  । 

वरिष्ठ नेता पौडेलले व्यवस्था परिवर्तनको खेलमा लाग्ने काम नगर्न पनि राजनीतिक दलहरुलाई सचेत गराए । ७० वर्ष संघर्ष गरेर टुंगो लगाएको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको विकल्प दलहरुले खोज्ने नमिल्ने उनको भनाई थियो ।





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार १४:४९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया