भीम रावलको दाबी : सरकारले अमेरिकालाई एसपीपी लागू नगर्ने पत्र लेखेकै छैन

नेकपा एमाले सांसद एवं पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले सरकारले अमेरिकालाई एसपीपी कार्यक्रममा भाग नलिने भनेर लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद रावलले सरकारले एसपीपी सम्बन्धमा अमेरिकी सरकारलाई पठाएको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका हुन् । उनले सरकारले पठाएको पत्र जनताले थाहा पाउने गरी सार्वजनिक गर्नुपर्ने बताए । 

सांसद रावलले सरकारले अमेरिकाको राज्य साझेदारी कार्यक्रम स्टेट पार्टनर सीप प्रोग्राम लागू गर्न खोजेको तर देशव्यापी विरोधपछि रोकिएको दाबी गरे । उनले अहिलेको गठबन्धन सरकारले बाह्य हस्तक्षेपलाई खुला छाडेको आरोप पनि लगाए । 

उनले भने 'त्यो पत्र नि:संकोच बाहिर ल्याउनुपर्छ । अमेरिकालाई लेखेको पत्र नेपाली जनताले थाहा पाउनुपर्छ ।’

सांसद रावलले नेपालको अर्थतन्त्र, कृषि र मुलुकको सुरक्षामा देखिएको बाह्य हस्तक्षेप बढ्दै गए नेपालीहरुले दैनिकी कष्टकर र पीडादायी हुने बताए । उनले ७ भन्दा बढी देशका शरणार्थी नेपाल आएर आन्दोलन गर्दासम्म कानमा तेल हालेर बसेको आरोप लगाए । 

सांसद रावलले सरकार र गठबन्धन दलहरु कुन मन्त्री कति महिना बनाउने र फेर्ने भन्नेमा मात्रै केन्द्रित रहेको बताए । उनले देशको राष्ट्रियतामा असर पर्ने कुराहरु के–के हुँदैछन् भन्ने कुरामा प्रधानमन्त्रीसमेत चिन्तित नरहेको आरोप लगाए । 



सांसद रावलले सरकारले अमेरिकालाई एसपीपी लागू नगर्ने भनेर पत्र नै नपठाएको आरोप लगाए । उनले सरकारका मन्त्रीहरुले संसदमा जानकारी दिएपनि पत्र भने नपठाएको दाबी गरे । 

सांसद रावलले एसपीपी सम्बन्धमा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति र राज्यका नीति सिद्धान्तको अनुगमन सम्बन्ध समितिले समेत दस्तावेज माग गर्दा अहिलेसम्म दस्तावेजहरु सरकारले बुझाएको बताए । 



उनले नेपालको परराष्ट्र नीतिलाई मिच्ने, मनपरी निर्णय गर्ने, कूटनीतिक रुपमा पत्राचार गर्ने निकायले पत्रचार गर्ने र ठूला शक्ति राष्ट्रहरुका अगाडि झुकेर संविधानको प्रावधानलाई कार्यान्वयन नगर्ने प्रधानमन्त्रीको चरित्रका कारण परराष्ट्र नीति र कुटनीतिमा गम्भीर विचलन देखा परेको आरोप लगाए ।

'संसद, संसद बाहिर र देशव्यापी रुपमा छलफल भयो । अन्त्यमा नेपाल सरकार बाध्य भएर एसपीपीलाई अगाडि नबढाउने भन्ने कुरा हामीले सुन्यौं । मन्त्री ज्युहरुको मुखबाट सुन्यौँ । गठबन्धनका नेताहरुको मुखबाट सुन्यौँ । तर अहिलेसम्म संयुक्त राज्य अमेरिकालाई सरकारले पत्र पठाएको छैन' उनले भने ।

सांसद रावलले नेपालको कुटनीतिको विचलन हुँदा नेपालको स्वतन्त्रता र भौगोलिक अखण्डताको लागि अत्यन्त खतरनाक हुने दाबी गरे ।

  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार १७:३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया