चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

चलचित्र विकास बोर्डको २२औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने उद्देश्यअनुरुप मन्त्रालयले त्यससँग सम्बन्धित ऐन–कानुन, आर्थिकलगायत संरचना तयार गरिरहेको बताए ।

नेपाली चलचित्र क्षेत्रमा चलचित्रकर्मीले गरेको योगदानको कदर गर्दै चलचित्रकर्मीको सेवा सुविधामा वृद्धि गरी सो क्षेत्रलाई सबैको आकर्षक र अवसरको क्षेत्रको रुपमा विकास गर्ने मन्त्री कार्कीको भनाइ थियो । उनले भने, ‘चलचित्र क्षेत्रमा पछिल्लो समयमा विकसित प्रविधिको प्रयोगसँगै ७७ वटै जिल्लामा चलचित्र छायांकनस्थल निर्माण गर्ने तयारी भइरहेको छ, यो कार्यले छिट्टै पूर्णता पाउनेछ ।’ 

चलचित्र क्षेत्रले आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँगै समृद्ध मुलुक निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने मन्त्री कार्कीको भनाइ थियो । उनले अबको पुस्तालाई दक्षिण एसियाकै धनी पुस्ताको रुपमा अगाडि बढाउने गरी मुलुकको आर्थिक विकास गर्नुपर्नेमा जोड दिए । 
    
सञ्चार मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्ने उद्देश्य अनुरुप विदेशी चलचित्र घरमा प्रदर्शन गर्ने सम्बन्धमा छलफल भइरहेको जानकारी दिए । उनले पर्याप्त अध्ययन गरेर समय सुहाउँदो दर्शकको चाहाना अनुरुपको गुणस्तरीय चलचित्र निर्माणमा ध्यान दिन अपिल गरे । 

बोर्डका सदस्यसचिव टंक महतले बोर्डकै पहलमा कक्षा ११ र १२ को पाठ्यक्रममा चलचित्रबारे समावेश गरी अहिले अध्ययन भइरहेको जानकारी दिए ।





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार १७:२६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया