नेपाली कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन – २०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले स्थानीय तह निर्वाचन – २०७९ को समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित गरेको हो ।
बैठकमा पार्टीका केन्द्रिय सदस्यहरु तथा समितिका सदस्यहरुले प्रतिवेदनका विषयमा विभिन्न सुझावहरु दिएको नेपाली कांग्रेस स्थानीय तह निर्वाचन परिचालन समिति सचिवालयकी संयोजक नानु बाँस्तोलाले जानकारी दिइन् । आवश्यक सुझावहरुलाई समेटेर सो प्रतिवेदन कांग्रेसको केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय भएको पनि उनले बताइन् ।
उनले भनिन् – ‘आजको बैठकमा नेपाली काँग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिले प्रतिवेदन तयार पारेको थियो । त्यो प्रतिवेदनको विषयमा आन्तरिक छलफल गरेर हामीले प्रतिवेदनलाई पास गरेका छौँ ।'
उनका अनुसार प्रतिवेदनमा ७७ वटै जिल्लामा स्थानीय तह निर्वाचनमा के कस्तो अवस्थामा रह्यो भन्ने विषयमा समावेश गरिएको छ । गठबन्धनका दलहरुसँग निर्वाचनमा भएका कमी, कमजोरी के भए र फाइदा के भयो के भएन भन्ने विषय पनि समावेश गरिएको उनको भनाइ छ । उनले समितिको प्रतिवेदनमा उपसमितिहरुले दिएका प्रतिवेदनहरुलाई पनि समावेश गरिएको बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।