हाम्रो पात्रोले सुरु गर्यो ई-लर्निङ प्याल्टफर्म

आम मानिसको दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बन्न सफल नेपालको लोकप्रिय एप हाम्रो पात्रोले नयाँ फिचरको रूपमा 'हाम्रो लर्निङ सेन्टर' ल्याएको छ । एउटै एपमार्फत विभिन्न सेवाहरू दिँदै आएको हाम्रो पात्रोले डिरयवाक सिफल स्कुलसँगको सहकार्यमा यो सुविधा विटा भर्सनको रूपमा ल्याएको हो ।

स्रोत र साधनको अभावमा अधिकांश विद्यार्थीहरू गुणस्तरीय शिक्षाबाट वञ्चित हुनुपरेको छ । समयमा पाठ्य पुस्तकहरू उपलब्ध नहुने र उचित मार्गदर्शन गर्ने शिक्षकहरूको अभावको कारणले धेरै विद्यार्थीहरूले शिक्षामा समस्या भोग्नु परिरहेको छ । प्रायः विद्यालयमा दक्ष शिक्षकको कमि आम विद्यार्थीहरूले महसुस गर्ने गरेका छन् । यो दुर्गम र गाउँहरूको मात्र नभएर पूरै नेपालको साझा कथा हो ।

अब यो विद्यार्थी र गुणस्तरीय शिक्षा बीचको दूरी हाम्रो लर्निङ सेन्टरले कम गर्ने भएको छ । प्रविधिले यो समस्यामा पुलको भुमिका खेल्ने भएको छ। हाम्रो पात्रो इंक. का फाउन्डर/सिइओ शंकर उप्रेतीले यो लर्निङ सेन्टरले नेपालको शिक्षामा सकारात्मक परिवर्तन गर्दै आममानिसको पहुँचमा पुर्‍याउन महत्त्वपूर्ण  भूमिका खेल्ने बताए । साथै उप्रेतीले यस लर्निङ सेन्टरलाई समय अनुकूल परिमार्जन गर्दै लैजाने र सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रविधिका माध्यमबाट उपलब्ध गराउन कदम चाल्दै जाने बताए ।

असार १५ मा एक समारोहका बीचमा हाम्रो पात्रोका सिइओ उप्रेती र डियरवाक सिफल स्कुलका अध्यक्ष हितेश कार्कीको बीचमा सहकार्यको लागि एक समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त कार्यक्रममा हितेश कार्कीले भने -  'हाम्रो पात्रोसँगको सहकार्यमा फ्लिप्ड क्लासहरू अझ फराकिलो विद्यार्थी समुदायसमक्ष पुर्‍याउन पाउँदा उत्साहित छु। हाम्रा कक्षाहरू धेरै विद्यार्थीहरूमाझ लोकप्रिय रहेका छन् र हाम्रो पात्रोमा शैक्षिक सामग्रीहरू उपलब्ध हुँदा अझ धेरै विद्यार्थीहरू लाभान्वित हुने आश लिएको छु र हाम्रो पात्रो उक्त कार्यको लागि सर्वोत्तम माध्यम हुनेछ ।'

यस लर्निङ सेन्टरका माध्यमबाट विभिन्न शैक्षिक संस्थाहरूले सजिलै आफ्ना शैक्षिक सामग्रीहरू उपलब्ध गराउन सक्छन् । हाललाई डियरवाक सिफल स्कुलका लेक्चर सबै विद्यार्थीहरूले निःशुल्क अध्ययन गर्न सक्छन् । कक्षा चारदेखि एघार कक्षा सम्मका विभिन्न विषयका शैक्षिक भिडियोहरू उपलब्ध रहेका छन् । बाँकी आवश्यक लेक्चर, सम्बन्धित विषयका प्रश्न, क्विज पनि आगामी दिनमा थपिँदै जानेछन्। हाम्रो लर्निङ सेन्टर सम्पूर्ण विद्यार्थीहरूका लागि बहुउपयोगी हुने कम्पनीको विश्वास छ ।





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार १८:४६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया