कांग्रेसको निष्कर्ष : गठबन्धनले फाइदा पुग्यो, निरन्तरता दिनुपर्छ

नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिले गठबन्धनका कारण प्रष्ट सैद्धान्तिक मतभेद भएका पार्टीको चुनाव चिह्नमा मत दिन पार्टी कार्यकर्ता मात्र नभई शुभेच्छुक समेतलाई गाह्रो भएको देखिएको जनाएको छ । 

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको समितिले प्रदीप पौडेल नेतृत्वको उपसमितिले दिएको प्रतिवेदनलाई पनि समावेश गरेर तयार गरेको हो । 

स्थानीय तहको निर्वाचनको समीक्षा गरिएको प्रतिवेदनमा यसका बाबजुद पनि गठबन्धनले फाइदा पुगेको उल्लेख गरिएको छ ।

गठबन्धनलाई कम्तीमा आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म कायम राख्नुपर्ने निष्कर्ष पनि प्रतिवेदनमा निकालिएको छ। गठबन्धन प्रभावकारी बनाउन केन्द्रको जस्तै संयन्त्र जतिसक्यो चाँडो प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रसम्म बनाउनुपर्ने बताइएको छ। 

मत नदिने चुनौतीका बाबजुद गरिएको गठबन्धनले सफलता पाएको छ । यसपटकको निर्वाचनमा गठबन्धनको सैद्धान्तिक पक्ष तथा औचित्यबारेमा पार्टीको केन्द्रीय तहदेखि तलसम्म एकै तवरको सकारात्मक बुझाइ नजानु, गठबन्धनको पालनामा अनुशासन खुकुलो हुनु र कार्यकर्तालाई गठबन्धनको औचित्य बुझाउन नसक्नु पार्टीको कमजोरी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
 
त्यस्तै, प्रतिवेदनमा प्रचार प्रसारको शैलीमा आएको परिवर्तनलाई पार्टीले पछ्याउन नसक्दा समस्या हुने उल्लेख गरिएको छ । 

त्यस्तै, सहरी क्षेत्रका स्वतन्त्र उम्मेदवार र युवाहरु कांग्रेसका लागि चुनौती रहेको निष्कर्ष निकालेको छ । स्वतन्त्र र युवाबाट सिर्जित चुनौतीलाई मध्यनजर गर्दै आगामी चुनावका लागि विशेष रणनीति बनाउनुपर्ने प्रतिवेदनमा सुझाब दिइएको छ।





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार १८:५५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया