नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताएका छन् ।
बिहीबार नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षधरको भेलामा सहभागी हुन पुग्नुभएका नेता भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताएका हुन् । उनले सभापति देउवाले पार्टी विधानअनुसार काम गर्न नसकेको बताए ।
अन्य पार्टीले मन्त्रिपरिषद् हेरफेर गरे पनि देउवाले आफ्नो पार्टीमा त्यसबारे बोल्नसमेत नसकेको उनले आरोप लगाए । उनले देउवा सत्तामा जाने राजनीतिका लागि सफल व्यक्ति भएको बताए । सभापति देउवाले गुटको प्रतिनिधित्व नगरी सिंगो पार्टीको प्रतिनिधित्व गर्नुपर्ने उनको भनाइ छ । उनले नेता शेखर कोइराला पक्षीय नेताको भेला गुटको भेला नभई विचारको भेला भएको जिकिर गरे ।
'सिंगो पार्टीको पनि नेतृत्व गर्न नसक्ने भइसकेपछि केही कुरा छलफल हुन्छ । सबै कुरालाई गुटको रुपमा हेर्नु हुँदैन । विचारको रुपले पनि हेर्नुपर्छ । उहाँले पार्टीभित्र, नेपाली कांग्रेसका सभापति सत्तामा जाने राजनीतिको लागि सफल व्यक्तिले गुटको प्रतिनिधित्व नगरेर सिंगो पार्टीको प्रतिनिधित्व गर्दै मुलुकको प्रतिनिधित्व गर्नुस् भन्ने हाम्रो दृष्टिकोण हो,' उनले भने ।
नेपाली कांग्रेसका नेता कोइराला पक्षीय नेताहरूको भेला बत्तिसपुतलीस्थित एक फुडल्याण्डमा जारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।