'कन्स्ट्रक्टिभ विद्रोह' गर्ने शेखर कोइराला पक्षीय भेलाको निष्कर्ष

नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षधर नेताहरूले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब (कन्स्ट्रक्टिभ विद्रोह) दिने निष्कर्ष निकालेका छन् ।

बिहीबार काठमाडौंमा भएको कोइराला पक्षीय नेताहरूको भेलाले पार्टी सभापति देउवालाई रचनात्मक दबाब दिने निष्कर्ष निकालेको हो । कोइराला पक्षको भेलाले पार्टी सभापति देउवा एकलौटी रुपमा अघि बढेको ठहर गर्दै दबाबमूलक कार्य गर्ने तयारी गरेको हो ।

देउवाले महाधिवेशनपछिको प्रतिवद्धता विपरीत एकलौटी रूपमा अघि बढिरहेको बैठकमा सहभागी नेताहरूको निष्कर्ष छ । पार्टीमा छलफल र सरसल्लाह गरेर अघि बढ्छु भनेर देउवाले महाधिवेशनपछि गरेको प्रतिवद्धता पूरा नगरेको, भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा एकलौटी गरेको कोइराला पक्षको आरोप छ ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता चन्द्र भण्डारीले पार्टी सभापति देउवालाई रचनात्मक दबाब दिने निष्कर्ष निकालेको बताए । उनले बैठकमा त्यसका लागि आफ्ना विचार समूहलाई कसरी लैजाने भन्ने कुरामा महत्वपूर्ण छलफल भएको बताए ।

उनले भने, 'आजको बैठकमा कन्स्ट्रक्टिभ विद्रोहको पनि कुरा भएको छ । पोल्टिकल सोचाइमा पनि परिवर्तन भएको छ । त्यसको आधारमा हाम्रो विचार समूहलाई कसरी लैजाने भन्ने कुरामा सबैभन्दा महत्वपूर्ण छलफल भएको छ ।’

उनले बैठकमा देशको आर्थिक, समसामयिक राजनीति, गठबन्धनात्मक विषयहरूमा छलफल गरेको बताए । उनले छलफलमा पार्टीको आन्तरिक कुरामा पनि जोड दिएको बताए ।



उनले भने, ‘देशको अहिलेको समसामयिक राजनीति, हाम्रो गठबन्धन, अहिले देशको आर्थिक अवस्था र भोलि हुने निर्वाचनको बारेमा र अहिले देशमा बढ्दै गएको महँगीको बारेमा हाम्रो लामो छलफल भइरहेको छ । पार्टीको आन्तरिक कुरामा पनि हामीले छलफल गरेका छौँ ।'

नेता भण्डारीले छलफलमा राजनीतिक सोचाइमा परिवर्तन र त्यसको आधारमा आफ्नो समूहको विचारलाई कसरी अघि बढाउने भन्ने बारेमा पनि छलफल भएको बताए । उनले बैठक भोलि (शुक्रबार) २ बजेपछि पुनः बस्ने गरी स्थगित भएको बताए ।



बैठकमा कोइरालासहित पार्टी महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, डा चन्द्र भण्डारी, बलबहादुर केसी, जगदीशनरसिंह केसी, डा. रामशरण महत, सञ्जय गौतमलगायत नेता सहभागी थिए ।

  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार २०:९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया