छबिसपाथिभेराको नीति तथा कार्यक्रमबारे एमालेको प्रतिक्रिया : कार्यकर्तामुखी र अपरिपक्व

स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । पालिकाहरूले १० असारमा नीति तथा कार्यक्रम ल्याएका हुन् । ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनबाट यसपालि धेरै ठाउँमा नयाँ जनप्रतिनिधि चुनिएका छन् ।

नयाँ जनप्रतिनिधिलाई पहिलो वर्ष धेरै चुनौती रहेका छन् । अनुभव कम र तयारी अभावले पनि उनीहरूलाई पालिकाको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने योजनाको विषयमा अन्योल भएको देखिन्छ । यसपटक धेरै पालिकाहरूले चालू आर्थिक वर्षकै कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

बझाङका १२ मध्ये अधिकांश पालिकाले पनि पुरानै योजनालाई निरन्तरता दिएका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिको नीति तथा कार्यक्रममा पनि खासै नयाँ भेटिँदैन । यसपटक पनि नीति तथा कार्यक्रम विकास निर्माणभन्दा कार्यक्रर्तामुखी रहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेको आरोप छ ।

छबिसमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी मिलेर चुनाव लडेका थिए । चुनावबाट एमालेका रामप्रसाद भट्टलाई हराउँदै माओवादीका बसन्त चलाउने अध्यक्षमा निर्वाचित भए ।

चलाउनेसँग पराजित भएका भट्टले गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा चित्त बुझाउने ठाउँ नभएको प्रतिक्रिया दिए । उनले कार्यकर्ता पोस्नेभन्दा विकास निर्माण केन्द्रित भएर नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए पनि आफ्नो कुनै पनि आग्रहको सुनुवाइ नभएको बताए ।  

‘वडा, गाउँ, टोलमा पुगेर नागरिकका वास्तविक समस्या बुझौं, तत्काल र दीर्घकाललाई चाहिने आवश्यकताका बारेमा फरक छुट्यायौं । त्यहीअनुसार बजेट विनियोजन गरौं भनेर सुझाव दिएको थिए । तर, हाम्रो कुनै पनि सुझाव पूरा नभएको अनुभूति गरेका छौं,’ एमाले छबिसपाथिभेरा गाउँपालिका अध्यक्षसमेत रहेका भट्टले भने, ‘भाँडेदेखि गाउँपालिका कार्यालयसम्म, गाउँपालिकादेखि लेकगाउँ जोड्ने सडक पिच गर्ने उद्देश्यले बजेट छुट्याउनुपर्ने सुझाव दिएका थियौं । एक/दुई लाख मात्र छुट्याएर काम छैन । विकास गर्ने खालको बजेट बनाऔं भनेर अध्यक्षसँग फोनबाट सल्लाह भएको थियो । तर, योजना तुर्जुमामा पनि मलाई बोलाएनन् ।’ 



त्यस्तै, भट्टले नीति तथा कार्यक्रममा सञ्चारको विकासका लागि ठोस योजना नसमेटेकोमा गुनासो पोखे ।

‘सबैभन्दा पहिले त विकास बजेटमा जोड दिनुपर्छ, त्यसमा पनि गाउँपालिका चुकेको देखियो । साथै, सञ्चारको समस्या समाधानका लागि पनि कुनै ठोस योजना देखिएनन् । अहिले पनि गाउँपालिकाको वडा नम्बर ६ र ७ को सबै बासिन्दा सञ्चारको सहज पहुँचमा छैनन् । त्यो समस्या समाधानका लागि टावर बनाउन वा अन्य पहल गर्न सकिन्थ्यो,’ उनले भने, ‘स्वास्थ्य क्षेत्रको लागि पनि पालिकाले खासै नयाँ कार्यक्रम ल्याउन सकेन । अहिले पनि बर्थिङ सेन्टरको अभावमा गर्भवती महिलालाई समस्या भइरहेको छ । वडावडामा भिडियो एक्सरे ल्याबका लागि पनि योजना देखिएन ।’  



उनले गाउँपालिकाको केही योजना अपरिपक्व ढंगले ल्याएको पनि आरोप लगाए । आफूहरू सधैं विकासको पक्षमा रहेको उल्लेख गर्दै भट्टले पालिकाको सही काममा समर्थन र गलत कामको खुलेरै विरोध गर्ने बताए ।

‘गाउँपालिकाले ल्याएका केही योजना कार्यकर्तामुखी देखिएका छन्, त्यसको हामी खुलेरै विराध गर्छौँ । गाउँपालिका अध्यक्षमा अनुभव नभएर पनि होला पहिलो वर्ष केही अपरिपक्वता देखियो,’ उनले भने, ‘नीति तथा कार्यक्रममा केही योजना राम्रा पनि छन् । हामी राम्रोलाई समर्थन र गलतलाई गलत भन्नँ डराउँदैनौं । गलत कामको सधैं विरोध गर्नेर्छौँ ।’

भट्टले आगामी आर्थिक वर्षको लागि छबिसभन्दा राम्रो योजना दुर्गाथली गाउँपालिकाले ल्याएको भन्दै प्रशंसासमेत गरे । ‘हाम्रोभन्दा छिमेकी पालिका दुर्गाथलीको योजना राम्रो छन्, हाम्रो पालिका अध्यक्ष/उपाध्यक्ष तथा जनप्रतिनिधिहरूले पनि राम्रो कामको सिको गर्न सक्नुपर्छ । जनतालाई प्राथमिकतामा राखेर विकास निर्माण र बजेट विनियोजन गर्न सक्नुपर्छ । वितरणमुखी बजेटले अबको पाँच वर्ष पनि पालिकाको अवस्था यस्तै नहोला भन्न सकिन्नँ । सर्वसाधारण सचेत हुन आवश्यक छ,’ उनले भने । 

छबिसपाथिभेराको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, हेर्नुस् पूर्णपाठ

यो पनि पढौं– छबिसपाथिभेराको नीति तथा कार्यक्रम : एम्बुलेन्स खरिददेखि एक वडा एक उद्योग स्थापना [पूर्णपाठ]

  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार १२:४५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया