श्रीलंकाविरुद्धको पहिलो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी

घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टेस्टमा अस्ट्रेलियाले १० विकेटको शानदार जित हात पारेको छ । श्रीलंकाले दिएको पाँच रनको झिनो लक्ष्य अस्ट्रेलियाले चार बलमा कुनै पनि विकेट नगुमाएर पूरा गर्‍यो । उसका लागि १० रन नै डेविड वार्नरले बनाए ।

श्रीलंका दोस्रो पारीमा मात्र ११३ रनमा समेटिएपछि अस्ट्रेलियाले पाँच रनको झिनो लक्ष्य पाएको थियो । श्रीलंकाका लागि कप्तान दिमुथ करुणारत्नेले सर्वाधिक २३ रनको योगदान दिए । 

पाथुम निसन्काले १४, दिनेश चण्डिमलले १३, ओसदा फर्नान्डोले १२ र धनन्जय डि सिल्भाले ११ रन जोडे । अस्ट्रेलियाका लागि ट्रभिस हेड र नाथन लायनले चार/चार तथा मिचेल स्विपसनले दुई विकेट लिए पारे ।  

त्यसअघि गले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले पहिलो पारीमा सबै विकेट गुमाउँदै ३२१ रन बनाएको थियो । उसका लागि क्यामरोन ग्रीन र उस्मान ख्वाजाले अर्धशतकीय पारी खेले । १०९ बलको सामना गरेका ग्रीनले ६ चौकासहित सर्वाधिक ७७ रनको योगदान दिए ।

७१ रन बनाएका ख्वाजाले १३० बलमा सात चौका प्रहार गरे । एलेक्स केरीले ४५, कप्तान प्याट कमिन्सले २६, डेविड वार्नरले २५, मार्नुस लाबुसेनले १३ तथा नाथन लायनले अविजित १५ रन जोडे ।

श्रीलंकाका लागि रमेश मेण्डिसले चार, असिथ फर्नान्डो र जेफ्रि वान्डरसेले दुई/दुई तथा धनन्जय डि सिल्भाले एक विकेट हात पारे । श्रीलंकाले पहिलो पारीमा २१२ रन मात्र बनाउन सकेको थियो । उसका लागि निरोशन डिकवेलाले सर्वाधिक ५८ रनको योगदान दिए । ५९ बलको सामना गरेका उनले ६ चौका प्रहार गरे । 



एन्गोलो म्याथ्युजले ३९, दिमुथ करुणारत्नेले २८, पाथुम निसन्काले २३, रमेश मण्डिसले २२ र धनन्जय डि सिल्भाले १४ रन बनाए । अस्ट्रेलियका लागि नाथन लायनले पाँच, मिचेल स्विपसनले तीन तथा प्याट कमिन्स र मिचेल स्टार्कले एक/एक विकेट लिए । 

यो जितसँगै अस्ट्रेलियाले दुई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो तथा अन्तिम टेस्ट ८ जुलाईबाट सुरु हुनेछ । 



  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार १३:२५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया