बाबुराम भट्टराईलाई दबाबमा राख्न उपेन्द्र यादवले बोलाए वीरगन्जमा बैठक

वीरगन्जमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएर अध्यक्ष उपेन्द्र यादवले आफूसँग असन्तुष्ट रहेका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई माथि थप दबाब बढाएका छन् ।

‘तीन सदस्य हेड क्वाटर’को सहमतिविना नै स्थानीय तह निर्वाचनमा टिकट वितरण गरेको, मन्त्रीमण्डल हेरफेरको अधिकार एकलौटी रूपमा लिएको लगायत विषयमा असन्तुष्ट रहँदै आएका भट्टराईमाथि भौगोलिक रूपमा आफ्नो पकड क्षेत्र वीरगन्जमा बैठक बोलाएर यादवले उनीमाथि दबाब बढाएका हुन् ।

‘तीन सदस्यीय हेड क्वाटर’ अर्थात् यादव, भट्टराई र अशोक राईको सहमतिमा मात्रै कुनै पनि महत्त्वपूर्ण निर्णय लिनु पर्ने यसअघि बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकअनुसार कार्य नगरेको भन्दै असन्तुष्ट रहेका भट्टराईलाई थप दबाबमा राख्न सो स्थान रोजिएको यादव निकट एक नेताले बताए ।

‘भौगोलिक रूपमा आफ्नो पकड क्षेत्र वीरगन्जमा बैठक आह्वान गरेर सुरुमा नै भट्टराई पक्षधरलाई मनोवैज्ञानिक रूपमा कमजोर पार्ने र त्यस बैठकमा भट्टराई अनुपस्थित भए एकलौटी निर्णय लिएर अघि बढ्ने उद्देश्यका साथ बैठक बोलाएको देखिन्छ,’ एक कार्यकारिणी सदस्यले भने, ‘सकेसम्म त वीरगन्ज बैठकमा भट्टराई नआउन् र भट्टराई नआएको बैठकबाट आफू अनुकूलको निर्णय गराउन सकियोस् भन्ने अन्तरेका साथ अध्यक्ष यादव अघि बढेको देखिन्छ ।’

उनका अनुसार वीरगन्ज बैठकमा भट्टराईको अनुपस्थिति देखाउँदै यादवले मन्त्रीमण्डल हेरफेरलगायत कार्यकारी अधिकार प्रयोग गर्न वैधानिक रूपमा बाटो खुल्ला भएको घोषणा गर्ने छन् ।

यसअघि बसेको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार कुनै पनि महत्त्वपूर्ण निर्णय लिँदा तीन सदस्यीय ‘हेड क्वाटर’ अर्थात् भट्टराई, यादवसहित अशोक राईको सहमतिअनुसार हुने भनिए पनि यसै साता मन्त्रीमण्डल सिफारिस गर्ने सो अधिकार यादवले लिएको सार्वजनिक भएसँगै पार्टी थप आन्तरिक विवादमा फसेको छ ।



उता, केन्द्रीय कार्यालयका सचिव प्रकाश अधिकारीले आगामी २७–२८ असारमा कार्यकारिणी समिति बैठक वीरगन्जमा आह्वान गरेको  सार्वजनिक गरे पनि बैठकका बारेमा भट्टराईसहित उनी निकट नेताले अझै खबर पाएका छैनन् ।

यादव निकट नेता मनिष सुमनले पार्टी कार्यालयबाट बैठकका बारेमा इमेलमार्फत खबर पाएको बताए पनि भट्टराई निकट अर्की नेतृ अमृता अग्रहरीले भने कुनै खबर नपाएको बताइन । ‘मैले मिडियामार्फत खबर पाएको हुँ, अहिलेसम्म औपचारिक रूपमा वीरगन्ज बैठकका बारेमा कुनै खबर आएको छैन,’ अग्रहरीले भनिन्, ‘उपेन्द्रजीले आजकाल कसैलाई खबर गर्ने कसैलाई नगर्ने गर्दै आउनु भएको छ, सायद अहिले हामीलाई पनि खबर नदिएको होला ।’



तर, यादव निकट नेताहरूले भने इमेलमार्फत खबर प्राप्त गरिसकेका छन् । ‘वीरगन्ज बैठकका बारेमा हामीलाई त खबर आएको छ, केहीलाई अझै नपुगेको भन्ने सुनियो, अब बिस्तारै जाला,’ केन्द्रीय कार्यकारिणी समिति सदस्य मनिष सुमनले भने । 

  • प्रकाशित मिति : असार १८, २०७९ शनिबार १३:१२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया