बजेटको विरोध नगर्न सांसदलाई माओवादी केन्द्रको निर्देशन

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारले ल्याएको बजेटको पक्षमा उभिन सांसदलाई निर्देशन दिएको छ ।

शनिबार मुख्यमन्त्रीसमेत रहेका संसदीय दलका नेता त्रिलोचन भट्टको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा उभिने निर्णय गर्दै ह्वीप जारी गरेको छ ।

बैठकमा सहभागी भएका प्रदेशसभा सदस्यहरुले बजेटमा त्रुटी भएकाले संशोधन गर्नुपर्ने धारणा राखेका थिए । तर, मुख्यमन्त्री भट्टले कार्यान्वयनका क्रममा त्रुटी सच्याउने प्रतिबद्धता व्यक्त गरेपछि उनीहरु बजेट पारित गर्न सहमत भएका एक सांसदले बताए । 

माओवादी केन्द्रको संसदीय दलको बैठकमा सरकार फेरबदलबारे भइरहेको चर्चाका विषयमा समेत कुराकानी भएको थियो । बागमती प्रदेशमा नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेको अवस्थामा सुदूरपश्चिम प्रदेश आफूलाई छाड्नुपर्ने एकीकृत समाजवादी पार्टीले माग राखेको स्रोतको भनाइ छ । यस्तो अवस्थामा यहाँ माओवादी केन्द्रले एकीकृत समाजवादी पार्टीलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने हुनसक्ने चर्चा छ ।

बैठकमा माओवादीबाट थुप्रै योग्य सांसदहरु मन्त्री बन्न छुटेको विषयमा पनि छलफल भएको ती सांसदले बताए । सुदूरपश्चिममा अहिले माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । उनलाई हटाएर नयाँ मुख्यमन्त्री बनाउने विषयले अहिले चर्चा पाएको छ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीले दाबी गरिरहेको छ ।

अहिले सुदूरपश्चिम प्रदेश सभामा पनि समाजवादी सबैभन्दा ठूलो दल रहेको छ । यस्तै सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सत्ता पक्षकै सांसदहरुले रुष्टता जनाएका छन् । 



सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावलले असार १ गते आगामी आर्थिक वर्ष २०७९÷०८० बजेट प्रस्तुत गरेका थिए । बजेट संसदमा प्रस्तुत भएसँगै यसमथि छलफल अगाडि बढाएर पारित गर्नुपर्ने हुन्छ ।

तर, बजेट प्रस्तुत भएको दुई साता बढी बितिसक्दा पनि छलफलको टुंगो लागेको छैन । सरकारले मनपरी ढंगले बजेटमा योजना समावेश गरिएको भन्दै मन्त्रीदेखि सत्तारुढ दलका सांसद तथा प्रतिपक्षी सांसद रुष्ट बनेका हुन । बजेटप्रतिको असन्तुष्टिका कारण प्रदेश सभा बैठक अनिश्चित बनेको छ ।



  • प्रकाशित मिति : असार १८, २०७९ शनिबार १५:२५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया