वर्षाले गाईघाट बजारका दर्जनौँ घर र पसल डुबायो

भीषण वर्षाका कारण उदयपुर सदरमुकामस्थित गाईघाट बजारका दर्जनौँ घर र पसल डुबानमा परेका छन् । घर र पसल डुब्दा विभिन्न उपभोग्य सामान भिजेर नष्ट भएका छन् । 

गाईघाट बजारको असारी लाइन क्षेत्रका पसल सञ्चालक तिलक खड्काका अनुसार शुक्रबार साँझदेखि परेको भीषण वर्षाले पसल र घर डुबेका हुन् । पसल डुब्दा २० लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए ।

गाईघाट बजारको शान्तिनगर टोल, ज्योति टोल, प्रतिभा टोल र पुरानो बसपार्क क्षेत्र तथा पिलचौक र संगमटोलका अधिकांश घर र पसल डुबेको एक पसल सञ्चालक दीपक कार्कीले बताए ।

स्थानीयवासीको घरभित्र पानी प्रवेश गर्दा घरका अधिकांश सामग्री नष्ट भएको छ । त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश विकले शुक्रबार बेलुकीदेखि आएको अविरल वर्षाका कारण बजार क्षेत्रका घर र पसल डुब्दा एक करोडभन्दा बढीको क्षति हुन पुगेको बताए । आफूले बिहानैदेखि अनुगमन गरेको उनले जानकारी दिए ।

क्षतिको विवरण संकलन गर्ने काम भइरहेको उनको भनाइ थियो । नगरपालिकाका प्रमुख र उपप्रमुख वसन्त बस्नेत र महेश्वरी राईले बजार डुबानमा परेपछि गाईघाट बजारको क्षतिको बारेमा अध्ययन गरिरहेको बताएका छन् ।





  • प्रकाशित मिति : असार १८, २०७९ शनिबार १७:१९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया