इयुबाट बर्हिगमन सम्झौता
थेरेसाको ऐतिहासिक हार, ब्रेक्जिट सम्झौता संसदबाट खारेज

एजेन्सी– युरोपियन युनियनबाट अलग हुने बेलायती प्रधानमन्त्री थेरेसा मेको योजना ब्रेक्जिट सम्झौता संसदको भारी बहुमतले खारेज गरेको छ । थेरेसाको उक्त योजनाको विपक्षमा ४३२ सांसदले मतदान गरेका छन् भने उनको पक्षमा विपक्षी पार्टी लेबरका ३ सहित २०२ सांसद थिए ।  

थेरेसाको पार्टीका कन्जर्भेटिभ ११८ सांसदले विपक्षी पार्टीका सांसदसँग मिलेर यो बे्रक्जिट मस्यौदा अस्वीकार गरेका हुन् । यो मस्यौदा वा विधेयकमाथि सरकारको सबैभन्दा ठूलो पराजय हो ।  

थेरेसाको ऐतिहासिक पराजयपछि विपक्षी लेबर पार्टीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । लेबर पार्टीका नेता जेरेमी कोर्बिनले संसदले जुन तरिकाबाट प्रधानमन्त्रीकोे ब्रेक्जिट मुद्दा खारेज गर्यो यहाँबाट नै सरकारले सदनको विश्वास गुमाएको स्पष्ट हुने बताए । 

सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि बुधबार मतदान हुनेछ । मतदानपछि थेरेसाले विश्वासको मत जिते सोमबार अर्को मस्यौदा संसदमा पेश गर्ने छिन् । 

तर अविश्वासको प्रस्ताव पारित भएमा उनलाई पुनः विश्वासको मतका लागि १४ दिनको समय मिल्ने छ । थेरेसाको पक्षमा मतदान नभएमा बेलायतमा आम चुनावको घोषणा हुनेछ । 

ब्रेक्जिट सम्झौता असफल भएपछि थेरेसाको राजनीतिक भविष्यमाथि प्रश्न उठ्न सुरु भएको छ । उनको समर्थनमा भएका सांसदले सदनमा ब्रेक्जिट सम्झौताको मात्र विरोध भएको तर प्रधानमन्त्रीको विरोध नभएको बताएका छन् । 



ब्रेक्जिट सम्झौतामाथि मतदान हुनुभन्दा पहिला उनले आफ्नो योजना सफल बनाउन सकेसम्म प्रयास गरेकी थिइन् । उनले संसदमा भावुक हुँदै यो मतदान आफ्नो राजनीतिक करिअरको सबैभन्दा महत्वपूर्ण रहेकाले सबै सांसदलाई यसको पक्षमा मतदान गर्न अनुरोध गरेकी थिइन् । 

थेरेसा मेले संसदमा दुईपटक यो मस्यौदा पेश गर्न सक्न प्रावधान छ । ब्रेक्जिटको विषयमा फेरि जनमत संग्रह पनि गर्न सक्ने प्रावधान छ । तर अब कुनै सम्झौता विना २९ मार्च २०१९ देखि बेलायत युरोपियन युनियनबाट अलग हुनेछ । 
 



  • प्रकाशित मिति : माघ २, २०७५ बुधबार ८:२६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया