प्रचण्डको राजनीतिक प्रतिवेदन : निर्वाचनमा कां‌ग्रेस इमान्दार भएन, समाजवादीले बढी सिट माग्यो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी गठबन्धनप्रति नेपाली कांग्रेस इमान्दार र गम्भीर नभएको आरोप लगाएका छन् ।

माओवादी केन्द्रले आजबाट सुरु गरेको केन्द्रीय समितिको बैठकमा १० पानाको ‘संक्षिप्त राजनीतिक प्रतिवेदन’ प्रस्तुत गर्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन् ।

'सरकारमा सहभागी दलहरू बीचको चुनावी गठबन्धनबारे नेतृत्व तहमा जुन स्तरको समझदारी र आवश्यकताको महसुस थियो त्यो स्तरको समझदारी स्थानीय तहमा कायम हुन सकेन । खास गरी नेपाली कांग्रेसको पूरै पंक्ति गठबन्धनप्रति इमान्दार र गम्भीर पाइन,' उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

उनले रोल्पा रुकुम, सल्यान, कालिकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोकलगायतका जिल्ला र आफ्नो बलियो उपस्थिति भएका स्थानीय तहमा एमाले र अन्य दलसँग गठबन्धन गरेर कांग्रेसले माओवादीलाई पराजित गरेको आरोप लगाएका छन् ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीले आफ्नो वास्तविक स्थितिभन्दा बढी दाबी गर्दा सिट बाँडफाँटमा समस्या भएको उनले औँल्याएका छन् । जनता समाजवादी पार्टीले आफ्नो आधार बलियो भएको तराई-मधेशका स्थानमा गठबन्धन गर्नका लागि अनिच्छा देखाएको उनको आरोप छ ।

स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर आगामी संघ र प्रदेशको निर्वाचनमा तयारीमा जुट्नुपर्नेमा अध्यक्ष दाहालको जोड छ । अब गठबन्धनको भर पर्न नहुने जिकिर गर्दै उनले आगामी चुनावका लागि तयारी गर्न नेता-कार्यकर्तालाई निर्देश गरेका छन् । 



‘आगामी दिनमा पहिलो, आफ्नो शक्ति र संगठनमा भर परेर निर्वाचनको तयारी गर्ने, दोस्रो गठबन्धन हुँदा वा नहुँदा पनि उम्मेदवार बन्न तयार हुने,’ प्रतिवेदनमा भनिएको छ ।

स्थानीय निर्वाचनको शिक्षालाई गम्भीर रूपमा आत्मसात गरे आगामी निर्वाचनमा पुनः माओवादी शक्तिशाली बन्ने उनको विश्वास छ ।



  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार १६:२५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया