कैलाली कांग्रेसको समीक्षा बैठक तीन पदाधिकारीले गरे बहिष्कार
फाइल तस्वीर

नेपाली कांग्रेस कैलाली जिल्ला कार्यसमितिको बैठक तीन जना पदाधिकारीले बहिष्कार गरेका छन् । आन्तरिक पार्टी संगठनसँग सम्बन्धित विषयवस्तु र स्थानीय तह निर्वाचन २०७९ को समीक्षात्मक टिपोटका विषयमा छलफल गर्ने कार्यसूची थियो ।

आइतबार जिल्लाको घोडाघोडी नगरपालिका सुखडस्थित खानेपानीको सभाकक्षमा आयोजना गरिएको बैठकमा वर्तमान कार्यसमितिका उपसभापति खेम चौधरी, सचिव नृपबहादुर सुनार र सहसचिव कलेसु चौधरी र सभापतिमा भट्टसँग पराजित भएका प्रकाश बम पनि अनुपस्थित भए । 

टिकट दिँदा छलफल नगर्ने अनि निर्वाचनको समीक्षामा चाहिँ किन आवश्यक पर्‍यो भनेर बहिष्कार गरेका कांग्रेस कैलालीका सचिव नृप सुनारले बताए । 

बैठक बहिष्कार गर्नेहरूमध्ये केहिले जिल्ला पदाधिकारीको कार्य विभाजनमा सभापतिले चासो नदिएको, जिल्ला कार्य समितिमा कुनै सल्लाह नगरी एकलौटी रूपमा मनोनयन गरेको, कार्यसम्पादन समिति निर्माण गर्दा कुनै सल्लाह नगरेको, निर्वाचन अवधिमा जिल्लाले गर्नुपर्ने महत्वपूर्ण कार्यहरू एकलौटी ढंगले गरेको, जिल्ला संसदीय बोर्डको बैठक नबोलाई टिकट वितरण गरेको र जिल्ला पदाधिकारीको बैठकमा भएको सहमति कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।

उनीहरूले पहिलो पटक ४९ प्रतिशत र दोस्रो पटक ४७ प्रतिशत मत प्राप्त गरेर जिल्ला अधिवेशनमा सभापतिमा झिनो मतले पराजित भएका प्रकाश बमसँग पनि जिल्लामा हुने गतिविधिमा सल्लाह नगरेको बताएका छन् ।

जिल्ला कार्यसमितिका सभापति नारायणदत्त भट्टले १९ गतेका लागि पदाधिकारीहरूलाई १५ गते पत्र पठाएका थिए । विभिन्न विषयमा असन्तुष्टि रहेकाले आइतबारको बैठकमा सहभागी नभएको एक पदाधिकारीले बताए । सभापतिका पराजित भएका बमले पनि जिल्ला कार्यसमितिले एकलौटी गरिरहेको बताए । तर, आइतबारको बैठकमा भने चालक नभएको हुँदा जान नसकेको उनले प्रष्टीकरण दिएका छन् ।



स्थानीय तहको निर्वाचनमा टिकट वितरण गर्न संसदीय बोर्डसमेत निर्माण गरिएको थियो । सबै पदाधिकारी र केही सदस्यहरू त्यसमा सदस्य थिए । अहिले उक्त बोर्डमार्फत टिकट नदिएर एकलौटी गरेको आरोप लगाइएको छ । 

यसअघि वैशाख १२ गते यो समूहले एक विज्ञप्ति नै जारी गरेर टिकट वितरणप्रति असहमति प्रकट गरेको थियो । सचिव नृप सुनार, उपसभापति खेम चौधरी र सदस्य प्रकाश बमले हस्ताक्षर गरेको विज्ञप्तिमा असहमति र आपत्ति प्रकट गरिएको थियो ।  



पार्टी सभापति भट्टले भने केही पदाधिकारी उपस्थित नभएको स्वीकार गरे । तर, उनीहरूले बहिष्कार गरेको भन्ने बारे आफू जानकार नरहेको उनले प्रष्ट पारेका छन् ।

  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार १६:५९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया