स्थानीय चुनावको अन्तर्घात छानबिन गर्न एमालेले बनायो कार्यदल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह चुनावमा भएको अन्तर्घातको सम्बन्धमा परेका उजुरी छानबिन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन गरेको छ । 

एमालेको केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले स्थानीय चुनावमा अपेक्षित नतिजा नआएको निष्कर्ष निकाल्दै उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । 

कार्यदलको सदस्यमा निर्वाचन विभागका प्रमुख देवेन्द्र दाहाल र संगठन विभागका प्रमुख खगराज अधिकारी रहेका प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

'स्थानीय चुनावको क्रममा भएको अनुशासनहीन गतिविधिमा संलग्न रहेको भन्दै एमालेमा परेको उजुरीको छानबिन गर्न र कारबाहीको सिफारिस गर्ने उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ,' गुरुङले भने, 'एमालेको केन्द्रीय सचिवालयको बैठकले पौडेलको नेतृत्वमा केन्द्रीय निर्वाचन विभागका प्रमुख तथा संगठन विभागका प्रमुख सदस्य रहेको छानबिन समिति गठन गरेको हो ।' 

चुनावमा भएका विभिन्न अराजकता, अनुशासनहीनता र अन्तर्घातका विषयहरूमा कार्यदलले छानबिन गरेर रिपोर्ट पेस गर्ने सक्ने र आवश्यक कारबाही गर्ने अधिकारी दिइएको पनि उनले बताए ।

त्यस्तै बैठकले असार मसान्तभित्र सबै तहमा निर्वाचन समीक्षा गरिसक्ने निर्णय पनि गरेको छ । 'असार मसान्तभित्रमा निर्वाचनको समीक्षा गरिसक्ने, यसका लागि जिल्ला र प्रदेश कमिटीले आफ्नो रिपोर्ट तयार गरेर केन्द्रीय हेडक्वाटरमा पठाउने निर्णय पनि गरेको छ,' उनले भने ।



 



  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार १८:२१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया