\
बंगलादेशविरुद्धको टी–२० सिरिजको दोस्रो खेलमा घरेलु टोली वेस्ट इण्डिज ३५ रनले विजयी भएको छ । गएराति सम्पन्न खेलमा विजयी भएसँगै तीन खेलको सिरजमा घरेलु टोलीले १–० को अग्रता लिएको छ । पहिलो वर्षाका कारण नतिजाविहीन सकिएको थियो ।
दोस्रो खेलमा १९४ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो । उसका लागि शाकिबअल हसनले अविजित ६८ रनको योगदान दिए । ५२ बलको सामना गरेका उनले पाँच चौका र तीन छक्का प्रहार गरे ।
अफिफ हुसेनले ३४, मोसाद्देक हुसेनले १५ र कप्तान महमुदुल्लाहले ११ रन जोडे । वेस्ट इण्डिजका लागि ओबेद म्याकोय र रोमारियो सेफर्डले दुई/दुई, अकिल हुसेन र ओडियन स्मिथले एक/एक विकेट लिए ।
त्यसअघि विन्डसर पार्कमा टस जितेर ब्याटिङ रोजेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९३ रन बनाएको थियो । उसका लागि रोभम्यान पावेल र ब्रेन्डन किंङ्गले अर्धशतकीय पारी खेले । ६१ रनमा अविजित रहेका पावेलले २८ बलमा ६ छक्का र दुई चौका प्रहार गरे ।
किङ्गले ४३ बलमा सात चौका र एक छक्कासहित ५७ रन बनाए । कप्तान निकोलस पूरनले ३४, कायल मायर्सले १७ तथा ओडियन स्मिथले अविजित ११ रन बनाए ।
बंगलादेशका लागि सोरिफुल स्लामले दुई, शाकिबअल हसन, मोसाद्देक हुसेन र मेहदी हसनले एक/एक विकेट हात पारे । वेस्ट इण्डिज र बंगलादेशबीचको तेस्रो तथा अन्तिम खेल ७ जुलाईमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।