प्रधानन्यायाधीशविरुद्धको महाअभियोगबारे संसदमा छिट्टै छलफल हुन्छ : कानुनमन्त्री

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावबारे संसदमा छिट्टै छलफल हुने आश्वासन दिएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सो महाअभियोग प्रस्ताव तत्काल छलफलमा ल्याउन सरकारलाई दबाब दिइरहेका बेला उनले यस्तो बताएका हुन् । 

सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले बजेट पारित गराउने पहिलो दायित्व भएकाले संसदमा सो महाअभियोग प्रस्तावबारे छलफल गराउने काममा केही ढिलाइ हुन गएको जिकिरसमेत गरे । मन्त्री कोइरालाले सो महाअभियोग प्रस्ताव संसदमा छलफल गराउनका लागि संघीय संसदको कार्य व्यवस्था परामर्श समितिमा छलफल भइरहेको जानकारीसमेत दिए । 

महाअभियोग प्रस्तावमा प्रधानन्यायाधीश जबराविरुद्ध लगाइएका आरोप के–के हुन् ? भन्नेबारे व्यापक छलफल हुने मन्त्री कोइरालाले बताए । प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ दलमा आबद्ध ९८ जना सांसदहरुले गत फागुन १ गते संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । 

मन्त्री कोइरालाले प्रधानन्यायाधीश जबरा निलम्बित भए पनि उनको सबै कार्यभार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सम्हालेको जानकारी दिए । 





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार २०:५८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया