अर्थतन्त्र सुधार्ने मौद्रिक नीति आउँछः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने दाबी गरेका छन् । सोमबार आगामी मौद्रिक नीतिको सुझाब संकलनका लागि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । 

पछिल्लो समय अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेको बताउँदै गभर्नर अधिकारीले अहिले अर्थतन्त्रमा परेको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरुले ल्याएका सिद्धान्त नै यो वर्ष प्रयोग हुने अवस्था आएको बताए । राष्ट्र बैंकले मौद्रिक नीति असार अन्तिममा ल्याउने तयारी गर पनि सम्भव नहुँदा साउनको पहिलो साता मौद्रिक नीति ल्याउने उनले बताए । 

गभर्नर अधिकारीले अर्थतन्त्रमा सेभिङ कमजोर हुँदै जाने र फजुल खर्च बढ्दै जाने अवस्था भइरहेको भन्दै पछिल्लो समय व्यक्तिगत र समाजको खर्च गर्ने प्रवृत्तिमा सुधार नआएको बताए । मुलुकको अर्थतन्त्र आयातमुखी अर्थतन्त्र रहेकाले त्यसको असरले अर्थतन्त्रको बाह्य क्षेत्रमा निकै ठूलो दबाब बढेको उनको जिकिर छ । 

अर्थतन्त्र आयातमुखी हुँदा यो वर्ष देशबाट करिब ३ खर्ब रुपैयाँ ‘आउट फ्लो’ भएको र पैसा बाहिर पठाउँदा बैंकहरुले राष्ट्र बैंकसँग डलर किन्नुपर्ने र त्यसका लागि ठूलो रकम राष्ट्र बैंकमा आउने गरेकाले पनि बैंकिङ प्रणालीमा तरलताको समस्या भएको उनले बताए । 

बैंकको ब्याजदर बढ्दै जाने संकेत भएकाले उद्योगी व्यवसायीले सहनुपर्ने उनले बताए । गभर्नर अधिकारीले सरकार, राष्ट्र बैंक निजी क्षेत्र सबै मिलेर अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए । मौद्रिक नीतिहरु सर्प पनि मरोस्, लठ्ठी पनि नभाँचियोस् भन्ने गरी ल्याउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । 

गभर्नर अधिकारीले मौद्रिक नीति ल्याएपछि त्यसको कार्यान्वयन मुख्य कुरा भएको भन्दै गत वर्ष ल्याएका प्रत्येक नीति अहिले प्रमाणित र कार्यान्वयन भइरहेको दाबी गरे । मौद्रिक नीति ल्याउँदा व्यक्ति–व्यक्तिको पछि लागेर सम्भव नहुने भन्दै उनले भोलिको मार्केटलाई सहज , समग्र अर्थतन्त्रलाई पनि सही ट्रयाकमा राख्ने र अर्थतन्त्रको समग्र प्रणालीलाई स्थायित्व दिने राष्ट्र बैंकले तयारी गरिरहेको बताए । 



गभर्नर अधिकारीले अहिलेको बैंकिङ तरलता कम गर्न राष्ट्र बैंकले झन्डै ११२–१३ अर्बको रिफाइनान्स, झन्डै २५० को एससेलएफ सुविधामार्फत साढे ३ खर्ब बैंकहरुलाई दिएको बताए । 
बैंकहरुमा १० लाख भन्दा बढी रकम जम्मा गर्न हुँदैन भन्ने उद्योगी व्यवसायी र बैंकर्सहरु समेत दुविधामा रहेको उनले बताए । 

राष्ट्र बैंक र बैंकहरुले त्यस्तो नीति नल्याएकाले १० लाखभन्दा बढी पैसा राख्नहुन्न भन्न नमिल्ने बताए । बैंकले टिटिआर रिपोर्ट अर्थात् बैंकको ग्राहकले एक दिनमा १० लाख पैसा जम्मा गर्यो भन्नको लागि कारण खुलाउनुपर्ने उल्लेख गरे । अहिले १० लाखभन्दा बढी पैसा बैंकमा जम्मा गर्नहुन्न भनेर ९ लाख ९९ हजार तीन पटकसम्म गरेर जम्मा गर्ने अभ्यास कसैले नगर्न उनले आग्रह गरे । 



उद्योगी व्यवसायीहरु अवैधानिक माध्यमबाट पैसा कमाउने कुरामा सतर्क रहनुपर्ने भन्दै गभर्नर अधिकारीले उद्योग खोलेर, अरुलाई रोजगारी र राज्यलाई कर तिरेको जति पनि पैसा बैंकमा जम्मा हुने बताए । अवैधानिक रुपमा कमाएको पैसालाई बैंकिङ प्रणालीमार्फत बाहिर ल्याउँछु भन्ने सोच्न नहुने उनको भनाइ छ । 

  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार २१:८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया