बलिउडका महानायक अमिताभ बच्चन भलै एकपटक देशको चुनावमा उत्रिए, तर यो घटना मानिसका लागि आजीवन स्मृतिमा रहिरह्यो ।
सन् १९८४ को लोकसभा चुनावमा उनले दिग्गज नेता हेमवती नन्दन बहुगुणाविरुद्ध इलाहबादबाट ऐतिहासिक जित दर्ता गराएका थिए । तर, उनले तीन वर्षमा नै सांसदबाट राजीनामा दिएका थिए । र, उनी सदाका लागि सक्रिय राजनीतिबाट बिदा भए ।
उक्त चुनावमा अमिताभसँग जोडिएका कैयौं रोचक कुरा छन् । उनले त्यो चुनावमा राजनीतिक व्यक्तित्वको रंग देखाएका थिए । उनले बहुगुणा आफूभन्दा वरिष्ठ भएकाले उनीविरुद्ध आफूले एक शब्द पनि नबोल्ने उल्लेख गरेका छन् । अमिताभले हेमवतीको पाउ छोएर उनीबाट आशीर्वाद मागेका थिए ।
हेमवती कुनै समय कांग्रेसी थिए र उनले इलाहाबादबाट चुनाव जित्ने निश्चित मानिएको थियो । त्यही समयमा कांग्रेसले अमिताभलाई उनकोविरुद्ध मैदानमा उतार्ने निर्णय लियो ।
अमिताभ आफ्ना साथी राजीव गान्धीको इच्छाअनुसार राजनीतिमा आएका थिए । तर, इलाहाबादको सिटमा उनको रंग खासै जम्न सकिरहेको थिएन । तर, पासा त्यतिबेला पल्टियो, जब त्यहाँ जया बच्चनले ‘बुहारी’का रूपमा प्रवेश गरिन् ।
अमिताभले बहुगुणालाई हराउनका लागि ‘मेरो आँगनमा तिम्रो के काम’ भन्नुपर्यो । अमिताभको क्रेज बढ्दै गयो । त्यहाँ चुनावको माहौल यति गर्मायो कि कतिपय स्थानमा राति १० बजेसम्म मतदान भएको थियो । केही बुथमा ९५ देखि शतप्रतिशतसम्म मत झर्यो । निर्वाचन आयोगले यी स्थानको चुनावमा कोही पनि बिरामी ओछ्यानमा नरहेको घोषणा गर्यो ।
अमिताभले यो चुनावमा बहुगुणालाई १ लाख ८७ हजार मतान्तरले पराजित गरेका थिए । तर, मतगणनाको समयमा एक रोचक कुरा बाहिर आयो ।
अमिताभको जित अन्तर धेरै बढ्यो तर उनले पाएको मतमध्ये करिब ४ हजार भोट रद्द भयो । यसको कारण पनि अनौठो थियो । अमिताभलाई महिला फ्यानको उल्लेख्य भोट आएको थियो । तर, त्यसमा तीमध्ये करिब ४ हजार महिलाले मतपत्रमा स्वस्तिक चिन्ह लगाउनुपर्नेमा मतपत्रलाई चुमेर लिपिस्टिकको निशान छाप लगाइदिएका थिए ।
चुनाव जितेको तीन वर्षमै उनले राजीनामा दिए । अमिताभले इलाहबादको जनतासमक्ष आफूले गरेको प्रतिबद्धता पूरा नगरेको भन्दै राजीनामा दिएका थिए ।
उनी चुनाव जितेपछि फिल्ममै व्यस्त भए । र, अमिताभ कहिल्यै आफ्नो संसदीय क्षेत्रमा फर्किएनन् । सांसद रहँदै रिलिज भएको उनको फिल्म ‘मर्द’ले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।