उपत्यकाको सुरक्षा केन्द्रमा राख्ने प्रस्ताव : कांग्रेस पक्षमा, माओवादी विपक्षमा, एमाले विभाजित

उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू विभाजित भएका छन् । सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षा सोमबार भएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी सांसदहरूले फरक फरक विचार राखेका हुन् । 

छलफलका क्रममा उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा कांग्रेस पक्षमा र माओवादी केन्द्र विपक्षमा देखिँदा एमाले विभाजित देखिएको छ । एमालेका सांसदहरूले फरक फरक मत राखेका छन् । 

संसदीय समिति राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा सांसदहरूको फरक फरक विचार आएको हो । सो क्रममा कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले उपत्यकाको सुरक्षा केन्द्रले हेर्ने प्रस्ताव स्वागतयोग्य रहेको बताए । उनले  मेट्रो पोलिसियन पुलिस गठन गरेर जानुपर्ने सुझाव दिए । 

माओवादी केन्द्रकी सांसद रेखा शर्माले भनिन् :

विधेयकमा १० (क) थपिएको छ । काठमाडौं उपत्यकाका प्रदेश प्रहरी नरहने प्रस्टै देखिन्छ । यसो गर्दा संविधान र संघीयताको मर्मविपरीत छ । उपत्यकाबाट प्रदेश प्रहरी हटाउने प्रस्ताव गलत छ । बरु प्रदेश प्रहरीको अनुसन्धानको केही अधिकार कटौती गरेर जान सकिन्छ । 

एमालेकी गंगा चौधरी 



१० वर्षे सशस्त्र युद्ध कालमा राज्यतर्फबाट लडेकाहरू जो जागिर छोड्न बाध्य भए, उनीहरूलाई पुनः जागीरमा प्रवेशको सुविधा दिउँ, उमेर भएकाहरूलाई । र अपांगता भएकाका परिवारलाई सेवा प्रवेशमा सुविधा दिउँ । 

उपत्यकाको सुरक्षाको विषय भनेर प्रदेशको अधिकार कटौती गर्न खोज्नु गलत हो । भोलि प्रदेशका राजधानीको सुरक्षाको विषय आउला अनि प्रदेशलाई विश्वास नगर्ने ? प्रदेश निर्माण भइसकेको छ  । इन्सपेक्टरसम्म सरुवाको अधिकार प्रदेशलाई दिनुपर्ने हुन्छ । तर, प्रस्तावित विधेयक आइरहँदा हामी प्रदेशसहितको संरचनामा छौँ कि केन्द्रीकृत संरचनामा ? संघीयता कार्यान्वयनको क्रममै अधिकार कटौती गर्न खोज्नु संघीयताकै खिलाफ हुन्छ ।  



एमालेका नारायणप्रसाद खतिवडा 

दफा १०(क) थपिएको छ । उपत्यकाका प्रदेश प्रहरीको काम नेपाल प्रहरीले गर्नेछ भन्यौँ । यसमार्फत प्रदेश प्रहरीलाई हामीले क्षमतावान बनाउनुपर्नेमा उल्टै अधिकार खोसेर हिँड्न खोज्यौँ कि ? यो ठिक होइन ।

एमालेका झपट रावल 

यो विधेयक किन आयो ? यसको पृष्ठभूमिमा नजाऔँ । संघीयता भएका मुलुकहरूमा राजधानीको सुरक्षालाई दृष्टिगत गरी विदेशी अपराधको सम्भावनालाई समेत ख्याल गरेर केन्द्रले जिम्मा लिनु उपयुक्त हुन्छ । यसले संघीयतालाई असर गर्दैन भन्ने लाग्छ । 

एमालेका नवराज सिलवाल 

विधेयकको दफा १०(क) मा जुन कुरा आएको छ । संघीयताको विरोधमा छैन । तर, हेटौंडामा बसेर उपत्यकाको सुरक्षा कमाण्ड गर्ने कुरा कति जायज हुन्छ ? यसकारण मेट्रो पोलिसन पुलिस संसारभर छ, हामी पनि त्यतातिर जाउँ । त्यहाँसम्म नजाँदा नेपाल प्रहरीले हेर्नेछ भन्ने कुरा ठिकै छ । 

  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार १२:३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया